कोरोना संकटमा प्राविधिकहरुका लागि पल शाहको पाँच लाख सहयोग

काठमाडौं – नेपाली फिल्म क्षेत्रका पर्दा पछाडिका हिरोहरु अर्थात् फिल्मका प्राविधिकहरुको जीवनमा लकडाउनले पारेको असर वारे बहस सुरु भएको छ।

चलचित्र प्राविधिक संघ नेपालका अध्यक्ष पुष्कर लामाले यस विषयको उठान गर्दै भनेका थिए : ‘प्राविधिकहरुले कलाकारको सफलताको लागि दिनरात, घामपानी, भोक केही नभनी खटिएको हुन्छन्। अहिले तिनैलाई यो विपत्तिको घडीमा प्रत्यक्ष सहयोग गर्ने बेला भएको छ।’

लगत्तै फिल्मकर्मीले व्यक्तिगत् एवं संस्थागत् सहयोग घोषणा सुरु गरेका छन्। शुक्रबार बिहान मात्रै फिल्म ‘छक्कापञ्जा’ युनिटले प्राविधिक संघमार्फत् एक लाख दश हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो। आजै अभिनेता पल शाहले पनि व्यक्तिगत् सहयोग घोषणा गरे।

उनले प्राविधिकहरुका लागि पाँच लाख रुपैयाँ सहयोग दिने भएका हुन्। शाहले फेसबुकमा लेखेका छन्,’कोरोना भाईरसको प्रभाव चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ। विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरुको जीवनलाई सहज बनाउनका लागि म आर्थिक सहयो गर्छु।’

उनले सहयोग वितरणका लागि चलचित्र प्रविधिक संघ नेपाल ले सहजिकरण गर्ने आशा समेत व्यक्त गरेका छन्।