प्रचण्डको फोनपछि आमालाई साक्षी राखेर अनसन तोडे वडाध्यक्षले

चितवन माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्णप्रसाद पौडेलले अनसन तोडेका छन्।

आमालाई साक्षी राखेर उनले तत्कालका लागि अनसन तोडेका हुन्। नेकपा अध्यक्ष तथा चितवन क्षेत्रका सांसद पुष्पकमल दाहाल‘प्रचण्ड’ले उनीसँग फोनमा कुरा गरेपछि अनसन तोडेको उनले बताए।

मंगलबार फेसबुकमा पोस्ट गर्दै उनले भनेका छन्,’मेरो निर्वाचन क्षेत्रको सासंद, मेरो अभिवाभक पनि हुनुहुन्छ,प्रचण्ड! उहाँसगंको टलिफोन संवादपछि, उहाँ माडीको यो न्यायको आन्दोलनमा आफ्नो ऐक्यबद्धता र अन्तिमसम्म साथ रहने प्रतिबद्धता व्यक्त गरेपछि उहाँको विश्वासमा हात्ती पीडित आमालाई साक्षी राखेर, मेयर रेनु दाहाल समेतको उपस्थितिमा मैले तत्कालको लागि अनसन तोडेको छु! माडीको लागि विद्रोहको लडाइँ म अन्तिमसम्म लडिरहनेछु।’

छ दिनदेखि अनसनरत पौडेलको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार भरतपुर अस्पतालमा भर्ना भएका थिए। वडाध्यक्ष पौडेल विकास निर्माणका काम हुनुपर्‍यो भन्ने दबाब दिन अनसन बसेका हुन्। माडीवासी जनताका तर्फबाट आमरण अनसन बसेको उल्लेख गरेका उनले सात बुँदे माग राखेका थिए।

‘माडी नगरपालिकालाई कृषि, पर्यटनको हबको रूपमा विकास गर्न विशेष योजना हुनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णत स्थानीय तहको अधिकार हुनुपर्ने, कसरादेखि बनकट्टा र बगहीँदेखि बाँदरझुलासम्म सडक स्तरोन्नति गर्नुपर्ने, लागत तथा उत्पादनको आधारमा बालीको क्षतिपूर्ति हुनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारण गर्न ठोस योजना हुनुपर्ने, सुकुम्बासीको व्यवस्थापन र राष्ट्रिय निकुञ्जसम्बन्धी २०२९ को विनियम संशोधन गर्नुपर्ने’ उनको माग छ।

वडाध्यक्ष अनसन बसेपछि नगरपालिकाका मेयर ठाकुर ढकालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहजिल्ला चितवन नै भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर समस्या सुनाएका थिए।