नेताहरूले आफ्ना आसेपासे र आफन्तलाई मात्र पोसेकोका छन् : बाबुराम भट्टराई

समाजवादी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताका आसेपासेहरूले राज्यको सम्पत्ति दोहन गरेको आरोप लगाएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली एन्टेरप्रेनेयुर एन्ड लिडरसिप समिटले आयोजनामा गरेको उद्यमशीलता तथा नेतृत्वसम्बन्धी सम्मेलनमा भट्टराईले देश विकास नहुनुको मुल कारण यही भएको बताएका छन् ।

‘अहिलेका राजनीतिक दलका नेताहरूको चरित्र हेर्नुहोस्, उनीहरूले केवल आफ्ना आसेपासे र आफन्तलाई पोसेकोका छन्,’ उनले भने । कर्णालीमा त्यो समस्या झन् बढी भएको डा. भट्टराईले बताए । ‘कर्णालीमा एउटा मान्छे राम्रो काम गर्छ कि भनेर आस गरेको मान्छे नेता हुन्छ । राज्यको पँहुचमा पुग्छ,’ उनले भने, ‘ऊ सिंहदरबारमा जान्छ । आफ्ना आसेपासेलाई पोस्छ र काठमाडौंमै घर बनाएर बस्छ । अनि कहिले कर्णालीको विकास होस् ।’

‘कर्णालीमा धेरै सम्भावनाका क्षेत्र छन् । यी क्षेत्रको विकास गर्न सकिएको छैन ।’ उनले भने, ‘अझैँ कर्णाली आफैं आत्मनिर्भर नभएसम्म यहाँको विकास भएको मानिदैँन । भट्टराईले समितिमा आफूले राज्य पुनर्संरचना गर्दा आठ, नौ वा १० वटा प्रदेश बनाउन सकिने वैकल्पिक प्रस्ताव पेस गरेको बताए ।

‘शासकीय स्वरूपका विषयमा समेत चार विकल्प प्रस्तुत गरेको थिएँ ।’ उनले थपे, ‘संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति हुँदा नै १० वटा प्रदेशको प्रस्ताव गरेको थिएँ ।’