उकालो लाग्यो नेप्से परिसूचक, आइतबार २१ अंकले बढ्यो

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आइतबार २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुगेको हो। यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९९ विन्दुले बढेर २८६.७५ मा पुगेको छ। नेप्सेले उकालो यात्रा तय गर्दा कारोबार रकम भने दुई अर्बमाथि नाघेको छ। कुल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर रु दुई अर्ब सात करोड ७९ लाख ८७ हजार ७९९ मूल्यमा खरिद बिक्री भए। नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये आइतबार दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने बढेको छ।

व्यापार ०.६२ र जीवन बीमा १.०९ले घटेको छ। यस्तै, बैंकिङ २७.०४, होटल ८.६६, विकास बैंक २८.३२, जलविद्युत् ३.०९, वित्त ४.१८, निर्जीवन बीमा १०१.५२, उत्पादन ४७.७८, अन्य ३.१६, लघुवित्त २२.१३ र सामूहिक लगानी कोष ०.०७ ले बढेको छ। नेप्सेका अनुसार कारोबारका आधारमा आइतबार सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको १० करोड ११ लाख चार हजार ९६७ मूल्यबराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो।

यस्तै, गरिमा विकास लघुवित्त रु नौ करोड ४८ लाख ५८ हजार ३३०, एनआइसी एशिया बैंक रु ६ करोड २९ लाख ९५ हजार ६८९, प्रभु बैंक रु छ करोड १९ लाख ९८ हजार १३५, हिमालयन डिस्टिलरी रु ६ करोड १४ लाख ५५ हजार २२३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ६ करोड पाँच लाख ४७ हजार ८६७ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रहे। गरिमा विकास लघुवित्त ९.९३, नयाँ नेपाल लघुवित्त ९.८९, मिथिला लघुवित्त वित्तीय संस्था ९.८८, ग्लोबल आइएमई समुन्नत स्किम एक ८.८८, खानीखोला हाइड्रोपावर ७.१४ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ७.०९ प्रतिशतले कमाए। त्यस्तै सिनर्जी पावर ४.७१, समता माइक्रोफाइनान्स ४.६३, अरुण काबेली ४, रिडी हाइड्रोपावर ३.७९, गुह्येश्वरी मर्चेन्ट बैंक ३.५९ र युनाइटेड फाइनान्सका लगानीकर्ताले ३.२७ प्रतिशतले गुमाए।