राजाको तस्बिर भएका नोट पुनः प्रयोग नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले पूर्व राजाको तस्बिर भएका नोट चलनचल्तीमा नपठाउन सबै बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गरेको छ।

सफा नोट नीति कार्यान्वयनमा ल्याउन सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई त्यस्तो निर्देशन गर्दै परिपत्र जारी गरेको राष्ट्र बैकले जानकारी दिएको छ।

परिपत्र अनुसार अब बैंक तथा वित्तीय संस्थाले त्यस्ता नोट फेरि बजारमा पठाउन पाउने छैनन् । त्यसमा राजाको तस्बिर अंकित नोट पुनः निष्काशन अयोग्य नोटको रुपमा वर्गीकरण गर्न निर्देशन छ ।

यसैगरी झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कारिएको वा च्याचिएका नोटलाई बैंक तथा वित्तीय संस्थाले पुनः निष्काशनका गर्न मिल्दैन । बैंक तथा वित्तीय संस्थाले अयोग्य नोटहरुलाई आफ्नो नोट कोषमा जम्मा गर्नुपर्ने छ ।

राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार अबदेखि बैंक तथा वित्तीय संस्थाले काउन्टर, एटीएमलगायत मेसिनबाट प्राप्त चलनचल्तीमा पठाउन काउन्टरबाट भुक्तानी गरी दिने नोटलाई तीनभागमा छुट्याउनु पर्नेछ । जसमा एटीएमबाट पठाउने रकमलाई हरियो, काउन्टरबाट पठाउनेलाई सेतो र अयोग्यलाई रातो रंगको क्लिप प्रयोग गर्नुपर्नेछ ।

राष्ट्र बैंकले नोटको जतनको लागि नोटमा नलेख्न, नकेर्न, रंग नदल्न तथा स्टिज नगर्न पनि भनेको छ । चलनचल्तकिा लागि पठाउने नोटलाई निर्मुलीकरण अनिवार्य रुपमा गर्नुपर्ने छ ।