एनसेल प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक,ओम्नी प्रकरणको पुनः छानबिन गर्दै लेखा समिति

सार्वजनिक लेखा समितिको बैठक आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर बिक्रीका सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बोलाएका छन् ।  उनले मंगलबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा  बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन मंगलबार महोत्तरी पुगेका उनी बैठकका लागि काठमाडौँ फर्कँदै छन् ।

कार्यक्रममा प्रधानमन्त्री  प्रचण्डले एनसेल शेयर बिक्रीमा अर्बौँ रकम हिनामिना सम्बन्धमा समाचार प्रकाशित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

उनले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएको स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।

‘एनसेलको विषयमा कुनै हालतमा छुट दिन सकिँदैन यो बदमासी हो । यसअघि सुशासनको पक्षमा सरकार कडा रूपमा प्रस्तुत भएको थियो । एनसेलको विषयमा पनि आवश्यक छानबिन गरी बदमासी गर्ने ठगहरूलाई तह लगाइन्छ’, उनको भनाई उदृत गर्दै मल्लले बताए ।

एनसेलको शेयर बिक्रीबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ ।

समिति सचिव एकराम गिरिका अनुसार बुधबार दिउँसो २ बजेका लागि बैठक बस्ने तय भएको छ । ‘शेयर बिक्रीबारे प्रारम्भिक छलफल गर्न लागिएको छ’ सचिव गिरिले  भने ।

एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको विदेशी कम्पनीको शेयर बिक्रीका क्रममा कानुनी प्रक्रिया मिचिएको वा कर छली भएको हुनसक्ने भन्दै सार्वजनिक लेखा समितिले यसबारे छलफल गर्न लागेको हो ।

समिति सभापति श्रषिकेश पोखरेलका अनुसार एनसेलको शेयर बिक्री छानबिन नै गर्ने तयारीमा सार्वजनिक लेखा समिति छ । नियामक निकायबाट विवरणहरु मगाएर त्यसमाथि अध्ययन गर्न लागेको हो ।

यसअघि सार्वजनिक लेखा समितिले एनसेलको शेयर बिक्रीमा कर छली भएको आशंका गर्दै नियामक निकायहरुलाई पत्र लेखेको थियो ।

ओम्नी प्रकरणको पुनः छानबिन गर्दै लेखा समिति

सरकारले आवश्यक स्वास्थ्य उपकरण चीनबाट खरिद गर्न ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल नामक कम्पनीसँग सम्झौता गरेको थियो । तर विना प्रतिस्पर्धा ओम्नीलाई जिम्मा दिएको र सामान खरिद गर्दा अनियमितता गरेको भन्दै विरोध भएको थियो । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा लेखा समितिले कागजपत्र मगाएर यो विषयमा छलफलसमेत गरेको थियो । तर टुंगोमा पुगेको थिएन ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले स्वास्थ्य सामग्री खरिद प्रक्रिया कानुनविपरीत भएको प्रतिवेदन समेत दिएको थियो । लेखा समितिले ३ पुस २०७७ मा ओम्नी प्रकरणमाथि थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो ।

२०७९ मंसिरको चुनावपछि गठन भएको संसदको सार्वजनिक लेखा समितिले यो विषयमा पुनः छलफल अघि बढाउन खोजेको हो ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले कोरोना महामारीको समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरुको विवरण सरकारसँग माग गरेको छ ।

समितिमा परेका विभिन्न उजुरी र अघिल्लो कार्यकालमा टुंगिन बाँकी रहेका विषयमाथि अध्ययन गरिरहेको छ । सोही क्रममा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक साताअघि पत्र लेखेर कोरोना महामारीमा खरिद गरिएका स्वास्थ्य सामग्रीको विवरण माग गरेको सचिव एकराम गिरीले जानकारी दिए ।

पत्रमा यथाशीघ्र विवरण उपलब्ध गराउनू भने पनि स्वास्थ्य मन्त्रालयले जवाफ नपठाएको समिति सचिवालयले जनाएको छ । नेपालमा कोरोना महामारी फैलिन नदिन २०७६ साल चैतमा सरकारले लकडाउन गरेको थियो ।