के हामीले द्वन्द्वका घाउ कोट्याएर क्यान्सर बनाउन खोजेको हो ? : बाबुराम भट्टराई

काठमाडौँ — द्वन्द्वकालीन मुद्दालाई एक-एक गरेर बल्झाउनुभन्दा शान्ति सम्झौताको भावनाअनुसार हल गर्नुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् ।

सभामुख निर्वाचित भएका अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको मंगलबारको बैठकमा शुभकामना दिँदै भट्टराईले भने, ‘शान्ति सम्झौताको भावना जुन थियो त्यसअनुरुप सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिका व्यक्तिको छानबिन आयोगमार्फत द्वन्द्वकालीन मुद्दा हल गर्नुपर्छ ।’

सभामुखमा निर्वाचित भएका सापकोटामाथि द्वन्द्वकालीन घटनालाई लिएर दायर गरिएको मुद्दाको स्मरण गर्दै तत्कालीन माओवादीले गरेको ‍सशस्त्र विद्रोहका नेतासमेत रहेका भट्टराईले भने, ‘शान्ति सम्झौताको १०- १२ वर्ष पूरा हुँदा पनि काम सम्पन्न हुन नसक्नु गम्भीर छ। सभामुखको विषयलाई लिएर, एउटा-एउटा मुद्दालाई लिएर अल्झाएर, बल्झाउने जुन प्रयत्न भएको छ त्यसले कसलाई फाइदा पुग्छ ?’ उनले अगाडि प्रश्न सोधे, ‘के हामीले द्वन्द्वका घाउ कोट्याएर क्यान्सर बनाउन खोजेको हो ? त्यसले समस्या हल गर्छ ? व्यक्ति व्यक्तिमा जाने हो भने १५-१७ हजार मानिस मारिएका, बेपत्ता भएका छन्। त्यसको हल कसरी गर्ने ? समग्रमा हल गर्ने कि अंश-अंशमा कोट्याएर जाने ?’

सभामुखमा आइतबार निर्वाचित भएका सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामालाई मारेको आरोप लागेको छ।

कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीको मुद्दालाई राजनीतिक मुद्दाका रूपमा लिनुपर्ने भट्टराईको धारणा थियो। राजपाका सांसद रेशम चौधरी हाल जेलमा छन्। उनी २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको झडपमा ८ जना प्रहरी र एक नाबालक गरी ९ जनाको मृत्यु भएको घटनाको आरोपी हुन्। उनीलगायतलाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ। भट्टराईले भने उक्त घटनालाई राजनीतिक रूपमा लिनुपर्ने र रेशमलाई जेलमुक्त गर्नुपर्ने बताए। उनले भने, ‘रेशम चौधरीको घटनालाई राजनीतिक रूपमा लिनुपर्छ। जबसम्म टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा लिइँदैन तबसम्म समाधान हुन्न।’