‘कमण्डलु लिएर काँग्रेस संसदमा प्रस्तुत हुने छैन’ : मिनेन्द्र रिजाल

काठमाडौँ – नेपाली काँग्रेसले उपसभामुख पद पाउनका लागि भनेर सभामुख पदमा उम्मेदवारी नदिएको स्पष्ट पारेको छ ।

सभामुख पदको निर्वाचनका लागि बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीको संसदीय दलले उम्मेदवार नउठाउने निर्णय सुनाउँदै काँग्रेस नेता सांसद मिनेन्द्र रिजालले सो कुरा बताएका हुन् । ‘उपसभामुख पदका लागि हामीले सभामुख पदमा उम्मेदवारी नदिएका होइनौँ भन्ने प्रष्ट पार्न चाहन्छौँ,’ रिजालले भने, ‘कमण्डलु लिएर काँग्रेस संसदमा प्रस्तुत हुने छैन ।’

उनले सभामुख र उपसभामुख अलग–अलग पार्टीको हुनुपर्छ भनेर संविधानले व्यवस्था गरेको जिकिर गर्दै त्यसको मर्म र भावलाई नेपाल कम्युनिस्ट पार्टीले बुझ्नुपर्ने बताए । उनले यसअघि प्राविधिक रुपमा एक हुन लागेका पार्टीले सभामुख र उपसभामुख पद दुई वटै लिएर गलत गरेको उल्लेख गरे । त्यही गल्तीका कारण पुस ४ देखि शुरु भएको सभामुख चयनको प्रक्रिया माघ १२ गतेसम्म पुगेको उनले जिकिर गरे ।

‘त्यसले नेकपालाई केही शिक्षा दियो कि दिएन थाहा भएन,’ रिजालले भने, ‘तर हामीलाई भने शिक्षा दिएको छ । अहिले देशभर महिला सशक्तिकरणको आवाज सशक्त छ । अब यसलाई कुनामा राखेर बस्न पाइदैन । यसले महिला आन्दोलनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको छ ।’