विमल माल्दिभ्सको क्लबसंग अनुबन्धित

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका सदस्य विमल घर्तिमगरले माल्दिभ्सको शीर्ष डिभिजनको लिग ‘धिवेही प्रिमियर लिग’ खेल्ने भएका छन् ।

राष्ट्रिय टोलीका नियमित स्ट्राइकर विमललाई एक सिजनका लागि टिसी स्पोर्टस क्लबसंग अनुबन्ध गरेको हो । नेपाली राष्ट्रिय टोली तथा टिसीका पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङले विमललाई क्लबले एसियन कोटामा अनुबन्ध गरेको जानकारी गराए ।

‘विमललाई एक सिजनको लागि क्लबले अनुबन्ध गरेको हो । उनलाई एसियन कोटा अन्तर्गत छनोट गरेको हो,’ किरणले भने । किरणले गत सिजन टिसीबाट उकृष्ट प्रदर्शन गरेका थिए । टिसी साबिकको विजेता टोली समेत हो ।

युरोपियन क्लबमा ट्रायल दिन बेल्जियम गएका विमल गत महिना नेपाल फर्किएका थिए । गत सिजन विमलले भारतको मोहन बगानबाट खेलेका थिए ।
विमलले नेपालको ‘ए’ डिभिजन लिग भने च्यासल युथबाट खेलेका थिए ।