बाबुराम-अशोक, उपेन्द्रजी आउनुहोस्, मिलेरै देशको विकास गरौं : प्रचण्ड

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, संघीय अध्यक्ष बाबुराम भट्टराई र नेता अशोक राईलाई नेकपामा आउन आग्रह गरेका छन्।

समाजवादी पार्टी छोडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई बुधबार आफ्नै निवास खुमलटारमा पार्टी प्रवेश गराउँदै प्रचण्डले अलग चुला चौका राखेर कुनै पनि पार्टी बलियो नहुने भन्दै नेकपामा आउन आग्रह गरेका हुन्। नेकपा प्रवेशी नेता कार्यकर्ताले समाजवादी पार्टीभित्र डा. बाबुराम भट्टराई, अशोक राईलगायत नेता निरिह रहेको बताएपछि प्रचण्डले नेकपामा आउन आग्रह गरेका हुन्।

‘पार्टी प्रवेश गर्न आउनु भएका साथीले सुनाउनु भयो, समाजवादी पार्टीमा अशोक राई, बाबुराम भट्टराईलगायत नेता पनि निरीह भएको अवस्था भएको भन्ने कुरा छ’, उनले भने, ‘मलाई थाहा छैन, तर त्यो सत्य हो भने बाबुराम-अशोक मात्र होइन, उपेन्द्रजी पनि नेकपामा आए राम्रो हुन्छ। अलग-अलग चुला चौका लगाएर केही हुँदैन,’ प्रचण्डले भने।

अन्य पार्टीबाट देशको समृद्धि र विकास नहुने भन्दै उनले नेकपाबाट मात्र त्यो सम्भव भएको जिकिर गरे। ‘सबै मिलेर जनतालाई विकासको एउटा युग दिऔं। त्यसैले जो जहा बिउझन्छ त्यहीबाट उठेर हिँडने हो’, उनले भने, ‘अरु साथीहरु दुई-चार दिन ढिलो चाँडो मात्र हो, बिउझेपछि उठेर हिडनुहुन्छ भन्ने विश्वास छ।’

कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधव नेपालले नेकपा बाहेक अन्य राजनीतिक पार्टीले देशको विकास गर्ने नसक्ने जिकिर गरे। उनले विधि पद्धतिमा चल्ने पार्टी नेकपा भएकोले पार्टीमा आउन अन्य राजनीतिक दलमा रहेका नेता कार्यकर्तालाई आह्वान गरेका हुन्।

‘अरु पार्टीमा नेकपामा जस्तो अवस्था छैन। निस्वार्थलाई स्थान, गतिशिलतालाई स्थान, विधि पद्धतिलाई स्थान र जनसम्बन्धलाई स्थान दिने पार्टी नेकपा मात्र हो’, उनले भने, ‘यसमा आउनुहोस्। मिलेरै देशको विकास गरौं।’