कड्किए प्रचण्ड–’राष्ट्रपतिले बोलाउँदैमा किन गएको ?’

काठमाडौं – नेकपा स्थायी समिति बैठकमा शनिबार नेताहरु पातालिए। धेरैको अनुपस्थितिलाई औंल्याउँदै नेताहरुले प्रश्न उठाए-‘यो के गरेको ? विधि/पद्धति यही हो?’ खैलाबैला मच्चियो। अध्यक्ष पुष्पकमल दाहालले कुनै स्रोतबाट सुइँको पाएका आधारमा जवाफ दिए–’उहाँहरु राष्ट्रपतिकहाँ जानुभएको हुन सक्छ।’

सदस्य संख्या कम भएपछि केही बेर बैठक स्थगन गर्नुपर्‍यो। ‘पार्टी बैठक शुरु भएका एक घण्टासम्म अध्यक्षलाई नै जानकारी नदिई नेताहरु उपस्थित नहुनु गम्भीर विषय हो,’ आक्रोशित हुँदै दाहालले भने-‘राष्ट्रपतिले हाम्रो पार्टी बैठक चलिरहेका बेला नै किन बोलाउने ? फेरि राष्ट्रपतिले बोलाउँदैमा पार्टी अध्यक्षलाई जानकारी नदिई नेताहरु किन जाने ? सबै नेता पार्टी अनुशासनमा बस्नुपर्छ।’ त्यसपछि शुरु भएको बैठकमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेताहरुका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आत्मालोचना गरे।

‘राष्ट्रपतिले आर्थिक विकास, समृद्धि, अर्थतन्त्र र समाजवादका विषयमा छलफल गर्न हामीलाई शीतल निवास बोलाउनुभएको थियो। यो यो पूर्वनिर्धारित कार्यक्रम थियो,’ ज्ञवालीले भनेका थिए-‘उहाँले लञ्च खाएर जान आग्रह गरेपछि पार्टी बैठकमा आउन केही ढिलाइ हुन पुग्यो। पार्टी अध्यक्षलाई ढिलो आउने जानकारी गराउन नसकेकामा क्षमायाचना गर्दछु।’ राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको आन्तरिक राजनीतिक जीवनमा हस्तक्षेप गरिरहेको आरोप लाग्ने गरेको छ। यो बेला शनिबार बिहान ११ बजे १२ जनाजति प्रभावशाली नेता पार्टी नेतृत्वलाई जानकारी नगराई शीतल निवास पुगेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।