रात छिप्पिँदै गर्दा बाबुरामले सम्झिए प्रचण्डलाई

काठमाडौं – कुनैबेला हातमा हात, काँधमा काँध मिलाएर जनयुद्धको नेतृत्व गरेका प्रचण्ड-बाबुरामको जोडी अहिले विछोडको अवस्थामा छ ।

पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई लालध्वजको यो जोडी फुट्दा माओवादी आन्दोलन इतिहासकै कमजोर अवस्थामा पुगेको बताइन्छ । एमालेसँग एकतामा गएका प्रचण्डले त्यहाँ आत्मसम्मान नपाइरहेको चर्चा चलिरहेको छ र ‘फिलिङ कार्यकारी’को भावनालाई जगाएर बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।

उता नयाँ शक्तिको कुरा गर्दै मधेसवादी शक्तिको नेतृत्व गरिरहेका उपेन्द्र यादवसँग पार्टी मिसाएर भट्टराई पनि संघीय परिषद् अध्यक्षको भूमिकामा खुम्चिएर बसिरहेका छन् । यद्यपि, बाबुराम-प्रचण्ड पछिल्लो समय एकअर्कासँग त्यति खुलेर छलफल गर्ने सम्बन्धमा छैनन् । दुवैजना ‘इगो’को पर्खाल उभ्याएर टाढा भइरहेका उनीहरु नजिकका नेताहरु टिप्पणी गर्छन् ।

यसैबीच, पूर्वएमालेका केही नेताहरुले जनयुद्ध र प्रचण्ड लगायत नेतृत्वको आलोचना गरिरहेको बेला बाबुरामले जनयुद्धको क्रममा खिचेको प्रचण्डसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

गाउँले परिवेशमा लडाकू पहिरनमा रहेका बाबुराम-प्रचण्ड गाउँका जनताबीच देखिन्छन् । तस्बिरसँग बाबुरामले लेखेका छन्- जनयुद्धकालमा गाउँले जनतासँग प्रचण्ड र म !