नेपालले सागमा अहिले सम्म १५ स्वर्ण जित्यो

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो दिन १५ स्वर्ण जितेको छ। नेपालले तेक्वान्दो र कराँतेबाट समान ७ – ७ स्वर्ण र ट्रायथलनबाट १ गरी १५ स्वर्ण जितेको हो।

नेपालले कराँतेको काताबाट ३ स्वर्ण जितेको छ। कराँते कातामा व्यक्तिगततर्फ मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते भने महिला र पुरुष समूह काताबाट पनि नेपालले स्वर्ण जित्न सफल भयो।

त्यस्तै, कराँते फाइटतर्फ पनि नेपालले ४ स्वर्ण जितेको छ। कराँते फाइट ५५ केजी तौल समूह पुरुषमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन्। ८४ किलोभन्दा माथिको तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण हात पारे। महिलातर्फ ५५ केजी तौल समूहमा अनु अधिकारीले स्वर्ण जितिन् भने ४५ केजी तौल समूहमा कुसुम खड्काले स्वर्ण हात पारिन्।

तेक्वान्दो पुम्से विधाबाट पनि नेपालले ७ स्वर्ण जितेको छ।

तेक्वान्दोबाट कमल श्रेष्ठ र सिना मादेन लिम्बू र पार्वती गुरुङले व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका हुन्। त्यस्तै व्यक्तिगततर्फ नै आयशा शाक्यले पुम्से (कला प्रदर्शनी)बाट स्वर्ण हात पारेकी छिन्। आयशाले पुम्सेकै २९ वर्षमाथिकै जोडीमा सञ्जिव कुमार ओझासँग मिलेर अर्को स्वर्ण समेत जितेकी छिन्। पुम्से विधाको महिला १७-२३ वर्ष उमेर समूहमा स्वर्ण जिताउने क्रममा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना विजयी भए। त्यस्तै २३ वर्षमाथि उमेर समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईले पनि स्वर्ण जितेका छन्।

ट्रायथलनको महिला तर्फ पनि नेपालले स्वर्ण जितेको छ। पोखरामा भएको खेलमा सोनी गुरुङले स्वर्ण हात पारेकी हुन्।