सीमाभन्दा ठूलो प्रधानमन्त्री पद होइन, सरकार ढल्छ भने ढलोस् : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि झुटा आरोप लगाउने नेताहरुलाई जवाफ फर्काएका छन् ।

एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई राष्ट्रियताको सवालमा सोचेर बोल्न आग्रह गरेका छन् ।

‘हिजो पनि एक जना विद्धान पण्डितको वक्तव्य मैले सुनें । अलिक तर्कपूर्ण ढंगले … यो राष्ट्रको समस्या हो । अहिले म प्रधनामन्त्री छु मलाई ब्लेम गर्ने विषय अर्थात मसँगको भनाभनको जुहारीको या मलाई होच्याउने विषय मात्र होइन होला ’, देउवा र बाबुरामको नामै नलिइ उनले भने, ‘राष्ट्रको भूमि सम्बन्धी राष्ट्रको समस्या हो । यो गम्भीर विषयमा नेताहरुले गम्भीरताका साथ बोल्ने गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले नेताहरुले तौलका साथ बोल्नु वाच्छनिय हुने प्रतिक्रिया दिए । ‘बाबुरामजी र शेरबहादुरजीलाई तौलका साथ बोल्न आग्रह गर्न चाहान्छु,’ प्रधानमन्त्रीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले भारतसँग सीमा विवादका विषयमा कुरा उठाउँदा सरकार गिर्छ भने तयार रहेको बताएका छन् । ‘अघिल्लोपटक त म पनि गिरकै हो नि । सरकारबाट मलाई पनि ढालिएकै होनि !’, प्रधानमन्त्रीले भने, ‘नाकाबन्दीको विरोधमा बोलें हुँला । उत्तरबाट पनि ट्रान्सपोर्ट ट्रान्जिट खोलें हुँला । नयाँ उचाइमा नेपाललाई लाने काम गरे हुँला । यस्तै कारण त होलान सरकार ढल्नुका । ढल्छ सरकार । तर, राष्ट्रिय हितको मूल्यमा सरकार ढल्छ कि ढल्दैन । राष्ट्रको सीमाको विषयमा बोल्दा म सरकारमा रहन्छु कि रहँदिन भन्ने कुराले कुनै अर्थ राख्दैन ।’

प्रधानमन्त्री ओलीले आफूले सीमा जोगाउनुपर्छ कि सरकार जोगाउनुपर्छ भन्दै प्रश्न गरेका छन् । ‘सीमा रक्षाका लागि भक्ती थापा तोपको भुँमरीमा गएर उडेका होइनन् ?’, प्रधानमन्त्रले भने, ‘त्यही सीमाका लागि बलभद्रले पानी खान नपाए पनि लडेका होइनन् ? अमरसिंह थापा ७५ वर्षको उमेरमा तरबार लिएर मैदान उत्रिएका होइनन ? त्यसकरण मेरा पद होइन मेरो राष्ट्र हो ।’

प्रधानमन्त्री ओलीले सीमा विवादको कुरा अहिले उठ्नु यही भावनाका साथ काम गर्ने प्रधानमन्त्री भएर होला भनेका छन् । ‘पदको वास्ता नगर्ने । पदभन्दा माथि राष्ट्रियता ठान्ने प्रधानमन्त्री छ भनेरै होला सीमा विवादको कुरा उठेको’, प्रधानमन्त्रीले भने ।