चुनाव हार्ने डरले कांग्रेस नेताहरु वाहियात र उट्‌पट्याङ कुरा गर्दैछन् : प्रचण्ड

चितवन – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव हार्ने डरले कांग्रेसका नेताहरू वाहियात र झुटा कुरा गर्न थालेको आरोप लगाएका छन्।

भरतपुरमा सोमबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, चुनाव हार्ने भएपछि कांग्रेस नेताहरू यतिबेला वाहियात, अनैतिक र उट्‌पट्याङ कुरा गर्न थालेका छन्। यस्ता कुराले कांग्रेसलाई नै घाटा हुन्छ।’

प्रधानमन्त्री केपी ओलीसँगको सहमतिमा भारतले नयाँ नक्शा निकालेको भनी कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाएको आरोप निराधार र हास्यासपद रहेको बताउँदै उनले भने, ‘कांग्रेसका सभापतिले पोखरामा जे बोल्नुभयो त्यो भन्दा झुठो र अनैतिक अरु हुनै सक्दैन, विक्षिप्त नभएको ब्यक्तिले बोल्न सक्ने भाषा होइन।’

अबको नेपाली जनता धेरै चेतनशील भैसकेकाले जनतालाई झुटो कुरा गरेर भ्रममा पर्न नसकिने वहाँले बताउनु भयो । ‘यसरी पार्टी लोकप्रिय हुने होइन, जनताप्रति भरोषा गरेर, जनताको निम्ति त्याग, तपस्या बलिदान गरेर मात्रै जनताको मन जित्न सकिन्छ ।’ झुटा कुरा गरेर जनतालाई झुक्याउने जमाना गैसकेको प्रचण्डले बताउनु भयो ।

देउवाले पोखरामा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीसँगको सल्लाहमा भारतले नक्सा तयार गरेको अभिव्यक्ति दिएका छन्।