‘संविधान संशोधन गरेर प्रत्यक्ष राष्ट्रपतिको प्रणालीमा जानुपर्छ’ : प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्ने रणनीति अनुसार अगाडि बढेका छन् ।

उनले विगतमा नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीसँग भएको आलोपालो प्रधानमन्त्री बन्ने सहमतिमा लचिलो हुनुमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लक्ष्य नै मुख्य कारण देखिएको छ ।

प्रचण्डले शनिबार विहान बाग्लुङ जानुअघि त्रिभुवन विमानस्थलमा भने, ‘संविधान संशोधन गरेर प्रत्यक्ष राष्ट्रपतिको प्रणालीमा जानुपर्छ ।’ देशमा स्थायी सरकारका लागि पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक रहेको प्रचण्डको जिकिर थियो ।

दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डले विगतमा पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको विषय उठाउँदै आएका थिए । उनले यसपटक प्रधानमन्त्री ओलीसँग गरेको सहमतिमा संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने विषय पनि रहेको बुझिएको छ । प्रचण्डले पनि प्रधानमन्त्री ओलीसँग यस विषयमा कुराकानी भएको खुलासा गरे ।

१५ जेठमा ऋषि धमलाले प्राइम टाइम टेलिभिजनका लागि लिएको अन्तवार्तामा प्रचण्डले ओलीसँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको खुलाएका थिए । यसले राजनीतिक तरंग समेत ल्याएको थियो । प्रचण्डले पछिल्लो पटक नेकपाको अध्यक्षका रुपमा कार्यकारी अधिकार समेत पाएपछि आलोपालो सहमति इतिहास भइसकेको बताएका थिए । ओलीलाई पाँच वर्ष पूरा कार्यकाल सम्हाल्न दिने र यसै अवधिभित्र संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने गरी प्रचण्ड अगाडि बढेका छन् । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्ने लक्ष्य लिएका छन् ।