‘कालापानीकाे विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण नगराैँ’ ( भिडियो )

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतबाट मिचिएको कालापानी, लिपुलेक र लिम्पिया धुराको विषयलाई अन्तर्राष्ट्रिय करण तत्काल गर्न नहुने बताएका छन् । राज्यव्यवस्था समितिको सदस्यका रुपमा आजको बैठकमा उपस्थित हुँदै अध्यक्ष प्रचण्डले उक्त धारणा राखेका हुन्।

समिति बैठकमा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले यसलाई अन्तर्राष्ट्रियकरण गर्ने नभनौँ, यदि गम्भीर वार्ता गर्दा पनि समाधान नभए पछि हेरौँला ।’ समितिले भारतले नेपालको सीमा मिचेको बारेमा छलफल राखेको हो । समिति बैठकमा बोल्दै उनले ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेज लिएर भारतसँग प्रस्ट कुरा गर्नुपर्ने बताए। उनले महाकाली नदीको मुहान लिम्पियाधुरा रहेको स्पष्ट दस्तावेज रहेकाले लिम्पियाधुरा पूर्वको क्षेत्र नेपाल र पश्चिम क्षेत्र भारत रहेको विषयमा कुनै अन्योल नरहेको बताए।

उनले तीनपटक भने, ‘महाकाली नदीको मुहान लिम्पियाधुरा हो, त्यसको पूर्व नेपाल हो भने पश्चिम भारत हो।’ प्रचण्डले भारतसँग गम्भीर वार्ता गर्ने उपयुक्त समय आएको बताए। ‘विगतमा स्थिर प्रकृतिको सरकार नहुँदा यस्ता समस्या देखिएको हो’, उनले भने, ‘नेपालको एक इन्च पनि जमिन छोड्दैनौँ र अर्काको भूमि पनि लिँदैनौँ।’ यो विषय गम्भीर नभए पनि विगतमा दह्रो कुरा राख्न नसकेको कारण समस्या देखिएको उनको भनाइ छ।

त्यस्तै, नेकपाकी सांसद पम्फा भुसालले सीमा मिचिएको विषयको छलफल कर्मचारी तवरबाट नगरी उच्च स्तरीय राजनीतिक तवरबाट समाधान गर्नुपर्ने बताइन् । समाज वादी पार्टीका साम्सद तथा सदस्य राजेन्द्र श्रेष्ठले देशका प्रमुख राजनीतिक दल, सीमाविद, विज्ञ रहेको संयन्त्र बनाउन सुझाव दिए। भारतमा यस्तो प्रकृतिको एसडीआइ जस्तो संस्था नेपालमा बनाउनुपर्ने उनले बताए।