प्रचण्डलाई भेट्न माधवकुमार नेपाल किन खुमलटार पुगे ?

काठमाडौं – बिहीबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। अध्यक्ष प्रचण्डलाई भेट्न नेता नेपाल बिहान पौने ११ बजे खुमलटार पुगेका थिए।

खुमलटारमा प्रचण्ड र नेपालबीच ‘वान टु वान’ वार्ता भएको थियो। नेता नेपालसँगको भेटवार्ता लगत्तै प्रचण्ड प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डले प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका थिए। भेटवार्तामा सहभागी महासचिव पौडेलले नियमित भेटवार्ता भएको बताए।

‘दैनिक भेटवार्ता भइराखेको हुन्छ’, महासचिव पौडेलले भने, ‘समसामयिक राजनीतिमा छलफल भएको हो।’ प्रचण्ड र नेता नेपालबीचको छलफल पार्टी बैठक छिटो बोलाउने विषयमा केन्द्रित भएको स्रोतको भनाइ छ। बिहीबार बिहानैदेखिको भेटवार्र्ता सकेर अध्यक्ष प्रचण्ड दिउँसै पोखरा पुगेका छन्।

कास्की–२ उपनिर्वाचन परिचालन कमिटीलाई निर्देशन दिन प्रचण्ड पोखरा पुगेको स्रोतले बतायो। तत्कालीन पर्यटनमन्त्री एवम् कास्की–२ का प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि मंसिर १४ गते उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

कास्की उपनिर्वाचनमा अधिकारी पत्नी विद्या भट्टराईले बिहीबार नेकपाको तर्फबाट उम्मेदवारी दर्ता गराएकी छन्। चुनावी माहोल आफ्नो पक्षमा पार्न प्रचण्ड पोखरा पुगेको नेताहरुको भनाइ छ।