महरालाई दुवै पदबाट राजीनामा दिन नेकपाको निर्देशन

काठमाडौं – सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपबारे छलफल गर्न बसेको नेकपाको सचिवालय बैठक सकिएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महरालाई प्रतिनिधि सभा सदस्य र सभामुख दुवै पदबाट राजिनामा दिन निर्देशन दिएको छ ।

प्रधानमन्‍त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान महरालाई बालुवाटार बोलाएर उनीमाथि लागेको आरोपबारे जानकारी लिएका थिए। सार्वजनिक रुपमा यस्तो आरोप लागेपछि छानबिनमा सहयोग गर्नका लागि सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन उपयुक्त हुने सल्लाह दुवै अध्यक्षले दिएको स्रोतले बतायो। दुवै अध्यक्षको यस्तो सल्लाहपछि महराले म सोचेर निर्णय लिन्छु भन्दै बालुवाटारबाट बाहिरिएका थिए। महराले यसबीचका केही कानुनविद्सँग समेत परामर्श गरेका थिए।

महरामाथि उनकै सचिवालयकी एक कर्मचारीले आइतबार बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन्। तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ।