प्रचण्डलाई बद्नाम गर्ने भारतको षडयन्त्र, पर्दाफास भएपछि राजावादीहरुको विचल्ली !

केही दिनयता सञ्चारमाध्यममा नेपालमा राजतन्त्र अन्त्य गर्नमा भारतीय खुफिया एजेन्सी रअको हात रहेको समाचार प्रकाशित भयो। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जोडेर आएको उक्त समाचारमा रअका तत्कालिन विशेष निर्देशक अमर भुषणले हालै सार्वजनिक आफ्नो पुस्तक ‘इनसाइड नेपाल’मार्फत बाहिर ल्याएको उल्लेख छ।

नेपाली सञ्चारमाध्यमले भारतीय मिडियालाई उद्धृत गर्दै उक्त समाचार लेखेका थिए। तर उक्त किताब नेपालमा भने आइसकेको छैन। नेपाली मिडियामा प्रकाशित समाचारमा नेपालमा राजतन्त्र अन्त्य गर्न तत्कालीन नेकपा माओवादीका कमाण्डर एवं अहिलेको नेकपाका अध्यक्ष प्रचण्डसँग हातेमालो गरेको उल्लेख छ। भूषणले आफ्नो पुस्तकमा दाहाललाई अन्य दलसँग मिलेर राजतन्त्रविरुद्ध आन्दोलनका लागि सहमत गराउन महत्वपूर्ण समय खर्चेको बताएको पनि समाचारमा उल्लेख छ।

यो समाचार प्रतिष्ठित नागरिक दैनिक र राजावादी निकट मानिने युवराज घिमिरे सम्पादक रहेको देशसञ्चार डटकमले प्रकाशित गर्यो। लोकान्तरले त समाचार टिप्पणी नै लेख्यो। त्यसपछि यो समाचार छ्याप्पछ्याप्ती आयो। यही समाचारलाई लिएर राजावादीहरु प्रचण्डमाथि क्रुद्ध भए भने राप्रपाका अध्यक्ष कमल थापाले त राजतन्त्र फ्याक्नमा भारतको भूमिकाको संसदीय छानविन हुनुपर्ने माग नै गरेका छन्।

यसरी राजावादीहरुबाट नेकपाका अध्यक्ष प्रचण्डमाथि प्रहार भइरहेको बेला एक जना पत्रकारले रअका पूर्व अधिकारी भूषणको पुस्तक पढेर यथार्थ बाहिर ल्याएका छन्।

नेपालको पहिलो ब्लग माइसंसार डटकमका सञ्चालक मल्टिमिडिया जर्नालिस्ट उमेश श्रेष्ठले पुस्तकमा उल्लेखित कुरा काल्पनिक रहेको तथ्य बाहिर ल्याएका छन्।

उनले माइ संसारमा ब्लग लेख्दै पुस्तकको प्रचारका लागि भारतीय मिडियाले प्रचण्डको नाम जोडेको र नेपाली मिडिया कागले कान लग्यो भन्दैमा कान नछामी कागको पछाडी दौडिएजस्तै पुस्तक अध्ययन नगरी भारतीय मिडियाको पछाडी दौडिदा चिप्लिएको उल्लेख गरेका छन्।

पुस्तकको मुख्य पृष्ठमा अटोबायोग्राफी नभई सत्य घटनाबाट प्रभावित लेखिएको र भित्र पुस्तक काल्पनिक कथा भएको र पात्र र घटनाहरु लेखकको कल्पना भएको उल्लेख गरिएको कुरा पत्रकार श्रेष्ठले खुलासा गरेका छन्। किताबै नपढी प्रतिष्ठित सञ्चारमाध्यमले राजतन्त्र अन्त्य गर्न प्रचण्डसँग रअको हातेमालो भनेर समाचार लेख्न मिल्छ त?, श्रेष्ठले प्रश्न समेत गरेका छन्।

पत्रकार श्रेष्ठले ब्लगमा लेखेका छन्ः ‘किताबमा प्रचण्ड हैन कि कमल अर्याल नामका एक नेतालाई भेटेको भनिएको छ। त्यस्तै अर्का नेपाली नेतामा उनले नेपाली कांग्रेसका नेता गोविन्दलाई भेटेको लेखेका छन्। पैसा दिएको लेखेका छन्। रमाइलो कुरा के भने कांग्रेसका नेता भेटेको भन्ने चाहिँ समाचार आएनछ। यो कल्पनामा आधारित किताब भनेर किन पनि प्रष्ट हुन्छ भने यसका लेखक अमर भूषणले मुख्य पात्र अर्थात् आफ्नै नाम अर्कै (जीवनाथन) लेखेका छन्।’

राजावादीहरुको विचल्ली

रअका पूर्व पदाधिकारी भुषणको पुस्तकको असली रुप पर्दाफास भएपछि राजावादीहरुको विचल्ली भएको छ। समाचारलाई आधार मान्दै यो विषयलाई उचाल्न उद्दत राजावादीहरु वास्तविक कुरा बाहिरिएपछि थचारिउका हुन्। समाचारकै आधारमा संसदीय छानविनको माग गर्ने कमल थापा अहिले चुपचाप छन्। अन्य राजावादीहरु पनि वास्तविक थाहा पाएपछि मौन बनेका छन्। उसो त पछिल्लो समय प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजेको भनेर नेकपाका नेताहरुले भन्दै आएका छन्। यही बीचमा भारतबाट प्रचण्डलाई बदनाम गर्ने षडयन्त्र हुनु संयोग मात्रै हो कि नियोजित भन्ने प्रश्न नेकपाका कार्यकर्ताले गर्न थालेका छन्। आखिर जे होस केही ढिलो भए पनि रअका पूर्व पदाधिकारीको पुस्तकबारे यथार्थ कुरा बाहिर आयो, यो नै ठूलो कुरा हो।

अवश्य पनि राजतन्त्र तत्कालिन माओवादीकै अगुवाईमा फालिएको हो । तर त्यसमा जनताको साथ छ न कि भारत। त्यसकारण रअको कुने पदाधिकारीले भन्दैमा नेपाली जनताको बलिदानबाट राजतन्त्र फ्याक्ने र गणतन्त्र स्थापना गर्ने कुरालाई नेपाली मिडियाले भुल्न हुँदैन। नेपाली मिडियाले कागले कान लग्यो भन्दैमा कागको पछि जाने होइन कि कान छामेर वास्तविकता पत्ता लगाउने विश्वसनीयता अझै बढ्ने थियो कि?

देशको न्युजबाट साभार