टुँडिखेलमा कार्यक्रम गर्न नदिए पछि दुर्गा प्रसाईँ आक्रोशित,काठमाडौँमा भोलि फिल्म देखाइदिने चेतावनी।

दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले फागुन १ गते पहिलो वार्षिकोत्सव काठमाडौंमा मनाउने तयारी गरिरहेको छ।

शक्ति प्रदर्शनका लागि देशभरिबाट समर्थक उतार्ने अभियानले जनाएको छ। कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत उपस्थित गराउने प्रयासमा प्रसाईं लागेका छन्। यसका लागि अभियानको उपत्यका समितिले नागरिक अभिनन्दनसमेत गर्ने भनेको छ।

तर कार्यक्रम कहाँ गर्ने भन्नेचाहिँ अझै टुंगो लागेको छैन। प्रसाईंले काठमाडौंको टुँडीखेल मागेका थिए। अभियानको केन्द्रीय कार्यालयले पुस २१ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई अनुरोध पत्र पठाएको थियो।

तर, अहिलेसम्म प्रशासनले कुनै पनि स्थानमा कार्यक्रमका लागि अनुमति नपाएको अभियानका अध्यक्षमण्डलका सदस्य हरि कार्कीले बताए।

‘पुस २१ गते नै प्रशासन कार्यालयमा पत्र पठाएर फागुन १ गतेको लागि आमसभा गर्न स्थान मागेकोमा हामीलाई टुँडिखेलमा कार्यक्रम गर्नुहोस् भनेर सीडीओले पटकपटक भन्नुभएको हो,’ कार्कीले भने, ‘तर आज आएर टुँडिखेलमा हुन्न, तपाईंहरू भृकुटीमण्डपमा कार्यक्रम गर्नुहोस् भनिँदै छ। टुँडीखेलमा चिनियाँहरूलाई कार्यक्रम गर्न स्थान उपलब्ध गराएका छन्। चिनियाँले कार्यक्रम गर्न स्थान पाउँछन् तर हामी नेपालीले आफ्नै देशमा सभा गर्ने ठाउँसम्म पाउँदैनौँ। यो त अति भएन र?’

गत मंसिर ७ मा प्रसाईंले बल्खु चोकमा कार्यक्रम गरेका थिए। भोलिपल्टबाट उनको प्रदर्शन तीनकुने हुँदै गौशाला पुगेको थियो।

Update: कहाँ हुँदै छ सभा 

दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले फागुन १ मा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रसाईँले यसअघि काठमाडौँको टुँडिखेलमा कार्यक्रम गर्न प्रशासनसँग अनुमतिका लागि निवेदन दिएका थिए । तर उक्त स्थान खाली नभएपछि भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गर्न अनुमति दिएको जिल्ला प्रशासन कार्यालय काठमाडाैँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

‘टुँडिखेल नेपाली सेनाको होल्डमा रहेछ । त्यहाँ सेनाले चिनियाँ टोलीलाई कार्यक्रम गर्न दिएको र खाली नभएकाले प्रसाईंलाई भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति दिइएको छ’,प्रमुख जिल्ला अधिकारी बस्नेतको भनाई छ ।
प्रसाईँले फागुन १ गते भ्रष्ट बिचौलिया र तस्करहरूको नाङ्गेझार गर्ने जनाएका छन् । साथै उनले कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत सहभागी गराउने दाबी गर्दै आएका छन् ।