को हुन् पत्रकार महासंघको पहिलो अध्यक्ष ?

को हुन् पत्रकार महासंघको पहिलो अध्यक्ष ?


हालसम्मका ऐतिहासिक तथ्यहरू भन्छन्, सत्यनारायण बहादुर श्रेष्ठको सभापतित्वमा गठित पत्रकार संघ नेपाली पत्रकारहरूको पहिलो संगठन हो 


आइतबार प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको आयोजनामा पुस्तक विमोचन कार्यक्रम चल्दै थियो । एकाएक कार्यक्रमस्थल अशान्त बन्यो । कारण बन्यो लोकार्पण हुन लागेको पुस्तक ।

नेपाल पत्रकार महासंघका अध्यक्षहरूमाथि लेखिएको ‘अग्र अनुहार’ पुस्तक विमोचन कार्यक्रम बिथोल्न आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सत्यनारायणबहादुर श्रेष्ठको तस्बिरसहित प्रदर्शनमा उत्रिएको थियो । इतिहासलाई तोडमोड गरेको भन्दै उनीहरूले विरोध मात्रै गरेनन्, विमोचन हुँदै गरेको पुस्तक समेत च्याते ।

आइतबार लोकार्पित पुस्तकमा नेपाली कांग्रेसका संस्थापक समेत रहेका स्व.कृष्णप्रसाद भट्टराईलाई नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष भनिएको छ । तर आदिवासी जनजाति पत्रकार महासंघले भने नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष स्व.सत्यनारायण बहादुर श्रेष्ठ रहेको बताएको छ । यो विवाद नयाँ भने होइन ।

कहिले देखिको हो विवाद ?

पत्रकार महासंघको संस्थापक अध्यक्ष को हो भन्ने विवाद पुरानै हो । २०५३ सालको विधान संशोधनबाट नेपाल पत्रकार संघ अहिलेको महासंघमा रुपान्तरण भएको थियो ।

महासंघले २०१२ चैत १६ गते कृष्णप्रसाद भट्टराईको सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघलाई नै संस्थापक समिति मान्यो । त्यसयता संस्थापक अध्यक्ष को हो भनेर पटक पटक विवाद हुने गरेको छ ।

तर इतिहासको ढड्डा केलाउने हो भने नेपाल पत्रकार संघको स्थापना २००८ सालमा भएको देखिन्छ । उक्त संघका नेतृत्वकर्ता सत्य नारायण बहादुर श्रेष्ठ थिए ।

इतिहासकार गृष्मबहादुर देवकोटाले ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ मा उल्लेख गरेअनुसार २००८ सालमा नेपाल पत्रकार संघको स्थापना भएको थियो । संघको नेतृत्व गर्ने जिम्मेवारी नेपाल टुडे पत्रिकाका सम्पादक सत्य नारायण बहादुर श्रेष्ठले प्राप्त गरेका थिए ।

इतिहासकार देवकोटाका अनुसार २००९ साल वैशाख २६ गते आर्य समाज मन्दिर, भोटाहिटीमा नेपाल पत्रकार संघको दोस्रो सभा भएको थियो । सभाले संघको सभापतिमा श्रेष्ठलाई छानेको थियो । उपसभापतिमा प्रेमराज शर्मा (गोरखापत्र), सचिव भोजबहादुरसिंह न्यौपाने (तरंग), सहसचिव रामहरि जोशी (नेपाल पुकार), कोषाध्यक्ष रामराज शर्मा (नेपाल पुकार), सदस्य नारायणप्रसाद उपाध्याय (युगवाणी), देवेन्द्रराज शर्मा, भीमभक्त जोशी (उद्योग), प्रकाशचन्द्र टण्डन (पीटीआई) थिए । संघमा त्यतिबेला साधारण सदस्यको रुपमा लवबहादुर कपिल, रघुनाथप्रसाद गुप्ता, राजेन्द्रकुमार, देवबहादुर न्यौपाने, राधाकृष्ण भट्टराई, राजेश्वर देवकोटा, गोविन्दभक्त जोशी, आशाराम शाक्य, रुद्रलाल मुलमी, हरिश्चन्द्र, कुन्तीदेवी, पूर्णकाजी थिए ।

संसारभर नै पत्रकारहरूका संस्था गठन र पुनर्गठन भइरहेका बेला नेपालमा प्रजातन्त्रको उदय भएको दुई महिना दुई दिनपछि पत्रकारहरू संगठित भएका थिए । “त्यो थियो– २००८ साल वैशाख ९ गते नेपाल र भारतका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको भेला । काठमाडौंको सरस्वती सदनमा भएको सो भेलाले ‘नेपालमा भएका पत्रकारहरूलाई हित–रक्षा र सुविधा दिलाउने’ उद्देश्य राखेको थियो”, विनोद ढुङ्गेलले २०७२ सालमा कान्तिपुरमा लेखेका थिए ।

२००८ मै स्थापना भए पनि पत्रकार संघले सक्रिय भूमिका भने खेल्न सकेको थिएन । श्रेष्ठ नेतृत्वको समिति लामो समय टिक्न पनि सकेन । नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास (तेस्रो संस्करण) को पृष्ठ १३९ मा उल्लेख छ- “यो पत्रकार संघ धेरै समयसम्म सञ्चालित हुन सकेन र अन्त्यमा त्यसै बिलायो ।”

पछि २०१२ चैत १६ गते नेपाल पुकारका सम्पादक (पछि नेपाली कांग्रेसका सभापति) कृष्णप्रसाद उपाध्याय भट्टराईको अध्यक्षतामा सोही नाममा [अर्को ?] संस्था बन्यो । तर भट्टराईको अध्यक्षतामा गठित पत्रकार संघ पनि श्रेष्ठको संघभन्दा खासै सक्रिय भएन । उनको एक वर्षे कार्यकालपछि हालखबरका सम्पादक दाताराम शर्मा संघका सभापति भए ।

महासंघको संस्थागत विकासको इतिहास साक्षी हुँदाँहुँदै पनि हालको नेपाल पत्रकार महासंघले भट्टराईको सभापतित्वमा २०१२ साल चैत १६ गते स्थापना भएको संघ नै आफ्नो जननी संस्था हो भनेर मानेको छ । “वि.सं. २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार संघको निरन्तरताका रुपमा महासंघ रहेको छ”, महासंघको वेबसाइटमा उल्लेख छ, “वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो ।”

तर महासंघले यसबारेमा औपचारिक निर्णय गरेको प्रमाण वा दस्तावेज नभेटिएको नेपाल पत्रकार महासंघ झापाका निवर्तमान अध्यक्ष समेत रहेका तारामणि सापकोटाद्वारा लिखित पुस्तक ‘समावेशी पत्रकारिता’ मा उल्लेख छ ।

होमनाथ दाहाल महासंघको सभापति (२०४९-२०५२) रहेका समयमा केन्द्रीय समितिले गरेको निर्णयका आधारमा २०१२ साल चैत १६ महासंघको स्थापना दिवस र कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति मान्ने निर्णय गरेको हो भन्ने गरिएको छ । तर, दाहाल सभापति भएको कार्यकाल मात्र होइन, महासंघका २०४० सालपछिका बैठक पुस्तिकाको अध्ययन गर्दा पनि भट्टराईलाई संस्थापक सभापति मान्ने निर्णय भएको अभिलेख पाइँदैन”, पुस्तकको पृष्ठ १५२ र १५३ मा उल्लेख छ, “यसरी संस्थापक सभापति स्वीकार गर्ने औपचारिक निर्णय बिना नै भट्टराईलाई संस्थापक सभापति मानिएको देखिन्छ । यद्यपि, संस्थापक घोषणापछिका महाधिवेशनहरूका दस्तावेजमा भने भट्टराईलाई संस्थापक मानेको देखिन्छ ।”

अनुसन्धाता विनोद ढुङ्गेलले २०७२ को लेखमा महासंघको संस्थागत इतिहासका विषयमा नेपाल पत्रकार महासंघको मौनतालाई अस्वाभाविक भनेका छन् ।

“यी सबै तथ्यमाथि आँखा चिम्लिएर पत्रकार महासंघको इतिहासलाई छोट्याउने, वास्तविक संस्थापकको योगदानलाई नामेट पार्ने र एक त्यागी नेताको सम्मानको बहानामा उल्टै विवादित गर्ने सरकारी प्रयास अस्वाभाविक छ”, ऐतिहासिक तथ्यहरू केलाउँदै ढुङ्गेलले लेखेका छन्, “यस्तो अवस्थामा वास्तविक इतिहासको थप अनुसन्धान गरी सत्य स्थापित गर्ने र अग्रजहरूप्रति सम्मान गर्ने सुकर्मको अगुवाइ गर्नुपर्ने मूल सरोकारवाला नेपाली पत्रकारहरूको छाता संगठन– नेपाल पत्रकार महासंघको मौनता झन् अस्वाभाविक छ ।”

मिडिया अध्येता भानुभक्त आचार्यले २०७४ कात्तिकमा अन्नपुर्ण टुडेमा २०१२ मा गठित पत्रकार संघ २००८ मा गठित पत्रकार संघको पुनर्गठन थिएन भन्ने तर्क पेश गरेका छन् । त्यसका लागि उनले गृष्मबहादुर देवकोटा र रामराज पौड्यालका पुस्तकमा ‘पुनर्गठन’ नभनेको विषयलाई आधार बनाएका छन् ।

गोरखापत्रका तत्कालीन सम्पादक रामराज पौड्याल, जो आफैं २००८ सालमा स्थापित नेपाल पत्रकार संघमा कोषाध्यक्ष थिए, ले २०२७ सालमा प्रकाशन गरेको ‘नेपाली पत्रकारिता’ पुस्तकको पृष्ठ ४५ मा सत्यनारायण श्रेष्ठको अध्यक्षतामा नेपाल पत्रकार संघ गठन भएको “तीन वर्षपछि श्री कृष्णप्रसादको अध्यक्षतामा … एउटा अर्को नेपाल पत्रकार संघ स्थापित भयो” भन्ने उल्लेख गरेका छन् । उनको पुस्तकमा पछिल्लो पत्रकार संघ अघिल्लोको पुनःस्थापना हो भन्ने कुरा उल्लेख छैन”, आचार्यले लेखेका छन्, “यदि त्यो संस्था पुनर्गठन थियो भने गृष्मबहादुर देवकोटा र रामराज पौड्यालले आफ्नो पुस्तकमा किन लेखेनन् होला जबकि २०१२ साल पछि पत्रकार संघमा आएको फुट र एकीकरणहरुबारे लेखे । भट्टराई पछिका अध्यक्ष वा पदाधिकारी वा पत्रकारहरुले नेपाल पत्रकार संघको गठन हो वा पुनःगठन हो भन्ने कुरा किन कुरा उठाएनन् ? आठ सालमा गठित पत्रकार संघ त तिनीहरुलाई थाहा थियो होला नि । ती किन चूप बसे होलान् ?”

संस्थापक अध्यक्षको विषयलाई लिएर बेलाबखत हुने गरेका विवाद र अझ बढी यसमा भएको राजनीतिकरणले तत्काल यो मुद्दा टुङ्गिने देखिँदैन । महासंघको संस्थागत विकासको ऐतिहासिक तथ्य मान्ने हो भने महासंघले श्रेष्ठलाई संस्थापक अध्यक्ष स्वीकार्नु श्रेयष्कर देखिन्छ । होइन भने महासंघले संस्थापक अध्यक्ष टुङ्गो लगाउन अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

ढुंगेल पनि यो विवाद समाधान गर्न ऐतिहासिक तथ्यका आधारमा अनुसन्धान गर्न सुझाव दिन्छन् । “ऐतिहासिक तथ्यहरूमा टेकेर अनुसन्धान गरौँ । सत्य नारायण बहादुर श्रेष्ठ बिते पनि उहाँको परिवारका सदस्यहरू हुनुहुन्छ, उहाँले सङ्गत गरेका मानिसहरू हुनुहुन्छ, कागजातहरू छन्”, ढुङ्गेलले मिडिया कुराकानीसँग भने, “यो प्राज्ञिक बहसको विषय हो । अनुसन्धान गरौँ । तथ्यले जे भन्छ, त्यसलाई स्वीकारौँ ।”

पत्रकार महासंघका वर्तमान अध्यक्ष विपुल पोखरेलले पनि अनुसन्धानकर्ताहरूसँग सहकार्य गरी सत्य स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “अनुसन्धानको ढोका सधैँ खुल्ला रहन्छ”, आइतबार भएको कार्यक्रममै उनले भने, “हामी पूर्वअध्यक्षहरू र अनुसन्धानकर्तासँग छलफल गरेर सत्य स्थापित गर्छौँ ।”