सूर्यविनायक–रत्नपार्क सडक खण्डमा रेड मार्किङ, द्रुत बस सेवा बाहेक अन्य सवारी साधन गुड्न नपाउने

सूर्यविनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले ३ असोजमा संविधान दिवसको अवसर पारी द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो । यसका लागि सडक विभागले सडकमा मार्किङको काम गरिरहेकाे छ भने यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ ।

यस्तो बस सेवा सञ्चालनमा ल्याउने गरी अहिले सडकमा मार्किङको काम भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । लेनमा आवश्यक भौतिक तयारी पूरा भएको जानकारी उनले दिए ।

Photo : Rojan Shrestha

सडक विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार  यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बससेवा सञचालन हुनेछ । द्रुत बसहरु चल्ने लेनमा दुई-दुई सय मिटरमा रेड मार्क गरिएको जानकारी पनि उनले दिए । खासगरी कार्यालय समयलाई ध्यानमा राखी द्रुत बस सेवा चलाउन लागिएकाे उनले बताए । त्यसबाहेकको समयमा भने अहिलेजस्तै सबै प्रकारका सवारीसाधन ती लेनबाट पनि चल्न पाउनेछन् ।

यसरी रेड मार्किङ गरेको सडकमा द्रुत बससेवा सञ्चालनको समयमा अन्य सवारी साधन गुड्न नपाउने उनले बताए । ‘त्यस्तै चोकचोकमा हुने ट्राफिक लाइनमा पनि यी बस रोकिनुपर्ने छैन,ट्राफिक प्रहरीले एम्बुलेन्सलाई जसरी नै लाइट पास गराउनेछन्’, उनले भने ।

हाललाई यस्ता बसमा द्रुतसेवा लेखेर सञ्चालन गरिने र पछि एकै रङका बस चलाइने तयारी भएको पोखरेलले भने । ‘संविधान दिवसका दिनबाट ट्रायलका रुपमा चलाउनेछौँ । एक सातापछिबाट भने पूर्णरुपमा सञ्चालन हुनेछ,’ उनले भने ।

संसारभर सार्वजनिक यातायातलाई प्राथमिकता दिन द्रुत बस सेवा सञ्चालन गर्ने प्रचलन रहेको छ । नेपालमा पनि ४० सिट भन्दा माथिका बस सञ्चालनको तयारी रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पनि द्रुत बससेवाको सम्भाव्यता अध्ययनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सडक विभागका महानिर्देशकको संयोजकत्वमा एउटा समिति बनाएको थियो । सो समितिले सूर्यविनायक-रत्नपार्क खण्डमा परीक्षणको रुपमा द्रुत बससेवा सञ्चालन गर्न सकिने सुझाव दिएको थियो । त्यही सुझावका आधारमा डेडिकेटेड लेनसहितको द्रुत बस सेवा सञ्चालन थालिएको पोखरेलले बताए ।

द्रुत सेवा सञ्चालनका लागि तीन मिटरको डेडिकेटेड लेन नै छुट्याइएको छ । ‘सूर्यविनायकदेखि मनोहरा पुलसम्म सडकको बायाँ लेनलाई डेडिकेटेडमा रुपान्तरण गरिएको छ । मनोहरा पुलदेखि माइतीघरसम्म सर्भिस लेनलाई नै डेडिकेटेडमा परिणत गरिएको छ र माइतीघरदेखि रत्नपार्कसम्म वानवे भएकाले दायाँपट्टीको लेनलाई डेडिकेटेडमा परिणत गरिएको छ,’ पोखरेलले भने ।