प्रधानमन्त्री प्रचण्ड र गौर हत्याकाण्डका पीडितबीच भेटवार्ता,छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने

 गौर हत्याकाण्डका पीडितले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली न्यायको माग गर्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएको संघर्ष समितिको संयोजक रुपसागर देवीले जानकारी दिइन् । गौर हत्याकाण्डका पीडितहरू लामो समयदेखि न्यायका लागि संघर्ष गरिरहेका छन् । उनीहरूले धर्ना र प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम गररहेका छन् ।

पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले आज छलफल गरेका हुन् ।

२७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको गौर घटनाका दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउने सवालमा यतिबेला राजनीतिक ध्रुवीकरण देखिएको छ ।

गौरको राइस मिल मैदानमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा सबै माओवादीका नेता–कार्यकर्ता थिए ।

गौर घटनापछि माओवादी पार्टी पटकपटक सरकारमा सहभागी भयो । माओवादीका अध्यक्ष प्रचण्ड स्वयं तीन पटक प्रधानमन्त्री भए । तर गौर घटनाको बारेमा माओवादीले कहिल्यै पनि गम्भीर नदेखिएको गुनासो पार्टीभित्र व्याप्त छ ।

माओवादी मधेस प्रदेशका एक नेताले भने, ‘हाम्रो अध्यक्ष र तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादवबीच राम्रो सम्बन्ध भएका कारणले माओवादीले यो विषयलाई गम्भीरतापूर्वक नउठाएको हो जस्तो लाग्छ ।’

गौर घटनामा मारिएकाहरुकै परिवारका कतिपय सदस्य अझै माओवादीमै रहेको र पार्टीभित्र पटक पटक उनीहरूले न्यायको मागसहित कुरा उठाउँदै आए पनि नेतृत्व पक्षले चासो नलिएका कारण पीडितले न्याय नपाएको उनले बताए ।

gaur incident 3-001

बरु माओवादी छाडेर एमाले हुँदै अहिले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका प्रभु साहले गौर घटनालाई गम्भीर रूपमा उठाइरहेका छन् । माओवादी र एमालेमा हुँदा पनि उनले बेलाबेला यो विषयलाई उठाउने गरेका थिए । आम जनता पार्टी गठन गरेपछि साहले गौर घटनालाई निकै प्राथमिकताका साथ उठाइरहेका छन् ।

२०६३ माघ ७ गते गौरमा भएको उक्त घटनामा प्रभु साह प्रत्यक्ष सहभागी थिए । माओवादीको तर्फबाट कार्यक्रमको आयोजक उनी नै थिए । कतिपय प्रतिवेदन तथा मिडिया अनुगमनले प्रभु साहकै जिद्दीका कारण त्यो घटना भएको भनिएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले गौर घटनाका मुख्य दोषी प्रभु साह रहेको दाबी गरे । उनकै सनकका कारण गौर घटनामा २७ जना माओवादीको ज्यान गएको शर्माको भनाइ छ ।

‘केन्द्रबाट माओवादीले पनि यो कार्यक्रम नगर्नुस् भनेको थियो । जिल्लामा पनि सीडीओ कार्यालय तथा विभिन्न निकायले कार्यक्रम नगर्न आग्रह गर्दा गर्दै प्रभु साहले जबरजस्ती कार्यक्रम गरेर पार्टीलाई क्षति पुर्‍याएको हो,’ उनले भने ।

gaur incident 2-001

गौर घटना हुँदा शर्मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका महासचिव थिए । त्यो घटनामा शर्माको नाम पनि मुछिएको छ । उनी भन्छन्, ‘अब यो घटनालाई गिजोल्नु हुँदैन । यसलाई जति गिजोलिन्छ, त्यति अवस्था बिग्रिँदै जान्छ ।’

सरकारले छानबिन गरेमा यसमा उपेन्द्र यादवमात्र नभएर प्रभु साह पनि जेल जाने अवस्था आउने उनको भनाइ छ । दुवै पार्टीको जिद्दीका कारण त्यो घटना भएको भन्दै उनले दुवै पक्षले पीडितसमक्ष गएर माफी माग्दै यो घटनालाई ‘क्लोज’ गर्नुमै सबैको भलो हुने प्रस्ट पारे ।

बैठकमा उठ्ला कुरा ?

माओवादी केन्द्रीय समितिको बैठक चलिरहेको छ । बैठकमा पनि यसको बारेमा खासै चर्चा भएको छैन । माओवादीका सचिव देवेन्द्र पौडेलले गौर घटनाको बारेमा माओवादी जानकार रहेको बताउँदै बैठकमा एजेण्डाकै रूपमा यो विषय नआएको जानकारी दिए । तर नेताहरूले व्यक्तिगत रूपमा यो विषय पनि उठाउन सन्ने उनको भनाइ छ ।

‘पुरानो घटना भएका कारणले नेताहरूले चासो लिन छाडेको होला तर पार्टीले बिर्सेको छैन, यस बारेमा कुरा हुन्छ,’ उनले भने, ‘पार्टीले यो विषयलाई कुनै न कुनै रूपमा उठाउँछ ।’

gaur incident 4-001

रौतहट जिल्लाका माओवादी इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य समीर भट्टराईले गौर घटनाको बारेमा अरू कसैले कुरा नउठाए पनि आफूले उठाउने बताए । ‘गौर घटना आपराधिक घटना हो, यसमा माओवादीलाई क्षति भएको छ,’ उनले भने, ‘यसको विषयमा पार्टीले बोल्नुपर्छ ।’

अहिले रौतहटमा गौर घटनालाई लिएर विभिन्न दलले गरिरहेको गतिविधि ठिक नभएको उनले बताए । घटनाका पीडितले न्याय पाउनुपर्ने पक्षमा माओवादी केन्द्र रहेको पनि उनले प्रस्ट पारे ।

रौतहटकै अर्का केन्द्रीय सदस्य सत्यनारायण भगतले गौर घटनालाई माओवादीले नबिर्सिएको बताए । उनले भने, ‘विभिन्न दल तथा सरोकारवालाले पनि गौर घटनाको बारेमा कुरा उठाइरहेका छन्, त्यो घटनामा सबभन्दा ठुलो क्षति माओवादीको भएको हो, माओवादीले त्यसलाई बिर्सिनै सक्दैन । बैठक चलिरहेको छ, त्यसमा अवश्य कुरा उठ्छ ।’रातो पाटिबाट साभार