चार लाख घुससहित प्रहरी हवल्दार पक्राउ

चार लाख घुससहित ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दारलाई अख्तियारको टोलीले पक्राउ गरेको छ।

प्रहरी हवल्दार शिवचन्द्र साहनी र उनकी श्रीमती निर्मला केवटलाई ४ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले पक्राउ गरेको हो।

हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाउन सहयोग गरेवापत लिएको चार लाख रुपैयाँ घुससहित शुक्रबार दिउँसो दुई बजे पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

उनीहरूलाई रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ७ स्थित खनाल मिष्ठान्न पसलबाट नियन्त्रणमा लिइएको भुसालले जानकारी दिए। साहनी भने असोज २६ गतेदेखि कार्यालयमा बिदा लिएर बसेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।