बाबुरामले बुढीगण्डकी आयोजनाबारेको दिएको अभिव्यक्तिबारे छानविन गर्न माग

‘हाम्रो नेपाल सुशासन अभियान’ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनाबारेको दिएको अभिव्यक्तिबारे छानविन गर्न माग गरेको छ।

पूर्वडिआइजी रमेश खरेल नेतृत्वको ‘हाम्रो नेपाल सुशासन अभियान’ले मंगलबार विज्ञप्ति जारी गरी भट्टराईको उक्त अभिव्यक्तिमाथि छानविन गर्न माग गरेको हो। ‘यो चानचुने विषय होइन, डा. भट्टराईले यसमा गम्भीर बनेर प्रमाण पेश गर्नुपर्छ,’ अभियानका संयोजक खरेलद्वारा जारी विज्ञफ्तिमा भनिएको छ।

अभियानको विज्ञप्तिमा सो विषयलाई प्रमाणसहित अघि बढाउन भट्टराईले साहस गर्नुपर्ने अन्यथा दोष मात्र लगाएर चुप बस्ने हो भने उनको राजनीतिक भविष्य र व्यक्तित्वमा गम्भीर आघात पर्ने उल्लेख गरिएको छ।

‘भट्टराईले हालसालै बुढीगण्डकी परियोजनामा नेपालका प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहालले ९ अर्ब भ्रष्टाचार गरेको कुरा सार्वजनिक रुपमा नै अभिव्यक्त गर्नुभएको छ, उच्चस्तरीय छानविन आयोग गठन गर्न चुनौती समेत दिनु भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भट्टराई देशका पूर्वप्रधानमन्त्री हुन् र हाल पार्टीका नेता पनि। उनले यसपूर्व पनि पुष्पकमल दाहाललाई भ्रष्टचारको दोष लगाउँदै आएका थिए। यसपटकको उनको अभिव्यक्तिमा तीन जनाको नाम छ, छानविन होस्।’

अभियानको विज्ञप्तिमा भ्रष्टाचार हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेतले यस विषयलाई गम्भीरतापूर्वक लिएर छानविन गर्नुपर्ने उल्लेख छ। ‘कसैको आदेश नमानी, कानुनसम्मत अनुसन्धान गरियोस् भन्ने हाम्रो अभियानको माग छ,’ विज्ञप्तिमा छ।