नुवाकोटकी एक महिलाले जन्माइन् एकै पटक पाँच शिशु

काठमाडौँ — थापाथलीस्थित प्रसूति गृहमा २८ वर्षिया सोनिका तामाङले एकै पटक पाँच शिशु जन्माएकी छिन् ।

नुवाकोटकी उनको गर्भबाट सोमबार बिहान शल्यक्रिया गरी ५ शिशु निकालिएको हो । गर्भको आठ महिनामै सुत्केरी बेथा लागेपछि उनको आकिस्मक शल्यक्रिया गर्नु परेको शल्यक्रियामा संलग्न चिकित्सक डा. किर्तिपाल सुवेदीले बताए । ‘भर्ना हुँदा पेटमा चारवटा बच्चा छ एउटा मृत छ भनेर आउनु भएको थियो । शल्यक्रिया गर्दा मात्रै ५ वटा शिशु भएको थाहा भयो,’ उनले भने, ‘हामी पनि छक्क पर्‍यौं, पछिल्लो बच्चाको तौल निकै कम छ ।’ मृत शिशुका कारण अन्य जिवित शिशुलाई असर गर्ला भनेर महिलालाई एक महिनाअघि देखि नै अस्पताल भर्ना गरेर निगरानीमा राखिएको थियो ।

जन्मिएका सबै शिशु छोरी हुन् भने मृत छोरा थिए । उनको तौल सामान्य (२.३ केजी) भन्दा कम छ । १.८, १.९, १.६ र ८०० ग्रामका छन् । जिवित जन्मिएका तीन शिशुलाई अहिले अर्ब्जभेसनका लागि वार्डमा राखिएको छ भने कम तौललाई भने एनआईसीयू राखेर उपचार गरिएको डा. सुवेदीले बताए ।

‘एउटै पाठेघरमा पाँचजना बच्चा हुनु फेरी आठ महिनामै जन्मिएका छन्,’ उनले भने, ‘त्यो हिसाबले तौल ठिकै मान्नुपर्छ ।’ आमाको स्वास्थ्य समान्य छ । अत्यधिक रक्तश्राप या पाठेघर नै निकाल्नुपर्ने जस्ता जोखिम हुन सक्ने भएकाले सुत्केरीलाई केही दिन निगरानीमा राखिने उनले बताए ।

विवाह भएको नौ वर्षपछि मात्रै यी दम्पतिले सन्तान जन्माएका हुन् । बिचमा गर्भ रहेपनि दुई पटक खेर गएको उनले सुनाए । अब सन्तान नै हुन्छ भनेर आशा मारिसकेका उनी दिनैभर आफन्तसँग अस्पताल प्रांगणमा खुशी व्यक्त गरिरहेका थिए ।