मुख्यमन्त्रीको प्रस्तावमा प्रदेश ५ को राजधानी दाङ हुने निर्णय

प्रदेश- ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रस्तावमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षले समर्थन गरेपछि प्रदेश राजधानी दाङ हुने निर्णय भएको छ।

नेकपा प्रदेश ५ का इन्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेलले प्रदेशको राजधानी दाङ बनाउन अनुमति माग्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेका थिए।

जवाफमा दुई अध्यक्षले प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेश सभाको अधिकार भनेका थिए भने मुख्यमन्त्री पोखरेलको प्रस्तावमा सहमति समेत जनाएका थिए।

‘केही दिनअघि मुख्यमन्त्री पोखरेलले दुई अध्यक्षलाई सम्बोधन गरेर चिठी लेख्नुभयो। राप्ती भ्यालीमा राजधानी लुम्बिनी नामाकरण तोक्नका लागि अनुमति पाऊँ भनेर,’स्रोतले भन्यो,’दुई अध्यक्षले यो

प्रदेश सभाको विषय हो। सचिवालय वा अरू ठाउँमा छलफल गरेर निर्णय गर्नु उचित हुँदैन। संवैधानिक रूपमा यो प्रदेश सभाको विषय हो। तथापी तपाईंले गर्नुभएको सिफारिसमा हाम्रो समर्थन छ भनेर दुई अध्यक्षले जवाफ पठाउनुभयो।’

दुई अध्यक्षकै जवाफका आधारमा पोखेरलले निर्णय लिएको स्रोतको दाबी छ। प्रदेश ५ को राजधानीको विषयमा महासचिव विष्णु पौडेल र मुख्यमन्त्री पोखरेलका बीचमा विवाद थियो। बुटवलका पौडेलले बुटवललाई नै राजधानी राख्न चाहेका थिए भने दाङका पोखरेलले आफ्नै गृहजिल्ला लैजान चाहेका थिए।