कोरोनालाई जितेर घर फर्किए विजय लामा

काठमाडौं – नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

भदौ २९ मा कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरस्थित स्टार अस्पतालमा भर्ना भएका लामा १८ दिन लामो उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्। उनले कयौँ पीडाबीच आफूले कोरोनासँग हरेक दिन संघर्ष गरेर जितेको बताएका छन्। ‘मैले हरेक दिन कोरोनासँग लडिरहेँ। अनेक दु:ख र कष्टबीच कोरोनासँगको संघर्षमा हार मानिनँ’, उनले भनेका छन्, ‘यसबीचमा मैले भोगेका कष्टप्रद क्षणहरू अनगिन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर संघर्ष गरेर जितें।’

उनले कोरोनाविरुद्धको लडाईँमा आफूलाई साथ दिने चिकित्सकहरुलाई पनि धन्यवाद दिएका छन्। उनले स्टार अस्पतालका नर्स र डाक्टरहरुलाई सम्झिँदै उनीहरुको कुशल चिकित्सकीय उपचारको पनि प्रशंसा गरेका छन्।

उनले आफ्नो स्वास्थ्य लाभका लागि कामना गर्ने सबैलाई आभार व्यक्त गरेका छन्। ‘नेपाल र विश्‍वका अन्य भागहरूबाट मेरा लागि गरिएका प्रार्थना र प्रेमले मलाई कोरोनासँग लडिरहन असीम बल प्रदान गर्यो’, उनले भनेका छन्, ‘ती सबै प्रार्थना र शुभेच्छाले मलाई मिलेको हौसला र ऊर्जाका कारण अस्पतालबाट डिस्चार्ज हुँदैछु।’ उनले आफ्नो अनुशासित जीवन शैलीले सामान्य जीवनतर्फ फर्काउन सहयोग गर्ने पनि बताएका छन्। उनले अन्यलाई पनि सकारात्मक सोचका साथ सक्रिय भइरहन आग्रह गरेका छन्।