लकडाउन लम्बिदै गएपछि राजधानी छोड्नेको भिड

काठमाडौं – स्थानीय निकायहरुले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका मानिसहरुलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि काठमाडौंको जडिबुटी क्षेत्रमा घरजानेको भिड लागेको छ।

लकडाउन लम्बिदै गएपछि काठमाडौंमा समस्यामा परेका केही मानिसहरु हिंडेरै घर जान थालेको र त्यसले थप जोखिम निम्त्याउने भएपछि अधिकांश स्थानीय तहले आफै सवारीसाधनको व्यवस्था गरी लैजान थालेका हुन्।
लकडाउन
मंगलबार काठमाडौंको जडिबुटिमा घर जाने मानिसहरुको भिड लागेको छ भने स्थानीय तह र जनप्रतिनिधिहरुले सवारी साधनको व्यवस्था गरेका छन्। मानिसहरु आफ्नो क्षेत्रमा जानका लागि सवारीसाधनको प्रतिक्षा गरिरहेका देखिन्छन्। लकडाउन सुरु भएको एक महिना हुनै लाग्दा पनि खुल्ने सम्भावना नदेखिएको र दैनिक काम गरेर खानुपर्नेहरुलाई समस्या परेपछि हिंडेरै घर जानेहरुको संख्या बढ्दै गएको थियो। तर यसबाट थप जोखिम हुन सक्ने भन्दै केही जनप्रतिनिधि र स्थानीय तहले आफै सावारीसाधनको व्यवस्थापन गरेर मानिसहरुलाई गन्तब्य सम्म लैजाने व्यवस्था मिलाएका हुन्।

यस्तै समस्यामा परेका मानिसहरुलाई पहुँचको आधारमा मात्र लैजान थालिएको भन्दै गाउँपालिका राष्ट्रिय महासंघले त्यसो नगर्न आग्रह गरेको थियो। सरकारले लकडाउन अवधिभर जो जहाँ छ त्यहिं बस्नुपर्ने र खाद्य सामग्रीको अभाव भए सरकार र स्थानीय तहले राहतको व्यवस्था गर्ने बताउँदै आएको छ। तर राहत थोरै हुने र यसले जिविको पार्जनका लागि नपुग्ने भएपछि मानिसहरु हिंडेरै घरतिर जान थालेका थिए।

यसबाट झन ठूलो समस्या आउने भएपछि कतिपय जनप्रतिनिधि र स्थानीय तहले आफ्नो क्षेत्रका मानिसहरुको उद्दार गर्न लागेका हुन्। जसले गर्दा मंगलबार काठमाडौंको जडिबुटी क्षेत्रमा घर जानेको भिड लागेको हो। पानी परिरहेको अवस्थामा पनि सयौंको संख्यामा मानिसहरु सवारीसाधनको प्रतिक्षा गरिरहेका थिए। सुरक्षाकर्मीहरुले समेत सहजिकरणको काम गरिरहेको देखिन्थ्यो।

स्थानीय तह र जनप्रतिनिधिहरुले न्यूनतम स्वास्थ्य प्रोटोकलको पालना गर्दै सुरक्षित साथ गन्तव्यमा पु-याउने कामलाई व्यवस्थित बनाउन लागेको देखिन्छ।