बाग्लुङकी ६५ वर्षीया महिला पनि कोरोनाबाट निको भईन, डिस्चार्ज गर्ने तयारी

नेपालमा एकैदिन दुई जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट निको भएका छन्।

बेल्जियमबाट फर्केकी बाग्लुङकी ६५ वर्षीया महिला कोरोनाबाट निको भएकी हुन्।

फ्रान्सबाट आएकी १९ वर्षीया कोरोना संक्रमित युवती निको भएर टेकु अस्पतालबाट शनिबार घर फर्किएकी छिन्। यसअघि चीनबाट आएका एक युवक कोरोनापछि निको भएर घरमा छन्। बाँकी २७ जना संक्रमित अस्तपालमै छन्।

बाग्लुङकी महिलाको लगातार दोस्रो नतिजा नेगेटिभ आएपछि उनी कोरोनामुक्त बनेकी हुन्। चिकित्सकका अनुसार डिस्चार्ज गर्नलाई संक्रमितको २४ घण्टाभित्र दुईटा नतिजा नेगेटिभ आउनुपर्छ। निको भएपछि महिलालाई आजै डिस्चार्ज गर्नको लागि अस्पतालले परिवारलाई खबर गरेको उनका छोराले बताए।

महिलाले आफूले ठूलो आत्मविश्वासका साथ यो रोगसँग लडेको बताइन्। उनले भनिन्, ‘एकदमै खुसी लागेको छ। संसारलाई हल्लाएको रोगलाई जित्न सकेँ।’ उनले परिवार र हौसला दिने सबैलाई धन्यवाद व्यक्त गरिन्। ‘म सबैको हौसला र मायाले गर्दा निको भएको छु,’ उनले भनिन्।

उनले आफू १५ वर्षदेखि दमको रोगी भएपनि अस्पतालको बसाईमा कुनै समस्या नभएको बताइन्। यो रोगसँग लड्न आत्मबलले ठूलो सहयोग पुग्ने भन्दै उनले संक्रमितहरूलाई समेत नआत्तिन सुझाव दिएकी छिन्।

गत चैत ४ गते बेल्जियमबाट आएकी महिला चैत २० गते अस्पताल भर्ना भएकी थिइन्। उनीसँगै बेल्जियमबाट आएकी नातेदार समेत पर्ने १९ वर्षीया युवती पनि कोरोना संक्रमणपछि सोही अस्पतालमै छिन्। युवतीलाई पहिले संक्रमण देखिएर अस्पताल भर्ना भएपछि महिलामा पनि परीक्षण गर्दा कोरोना देखिएको थियो। युवतीको भने चौथो परीक्षणको नतिजा पनि पोजेटिभ नै आएको छ।

उनले नातिनी पर्ने युवतीको चौथो नतिजा पनि पोजेटिभ आएकोमा आश्चर्य जनाइन्। ‘कम उमेर भएकाले उसको झन् राम्रो आउनुपर्ने। मभन्दा अघि अस्पताल भर्ना भएकी थिइन्,’ उनले भनिन्।