लकडाउनमा मर्निङवाक गर्नेलाई सशस्त्र प्रहरीले सचेत गरायो

भैरहवा – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लकडाउनलाई उल्लंघन गर्दै बिहीबार बिहान मर्निङवाक गर्ने व्यक्तिहरुलाई सशस्त्र प्रहरीले सचेत गराएको छ।

समूह बनाएर मर्निङवाकमा निस्केका ५० जनालाई अबदेखि घरमै बस्न सचेत गराएर छाडिएको सशस्त्र प्रहरीबल नेपाल नं. ३८ गुल्म हे.क्वा. (राजस्व तथा भन्सार गस्ती सुरक्षा) रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले बताए।

सिद्धार्थनगर नगरपालिका–१ बाइसास रोडमा भेटिएका उनीहरुलाई सम्झाइ-बुझाई गरेर अब घरबाट बाहिर ननिस्कने सर्तमा घर पठाइएको शाहीले बताए । ‘भोलिदेखि लकडाउनलाई पूर्णरुपमा पालना गराउन अझ कडा रुपमा जानेछौं,’ उनले भने।