‘लकडाउन’को मौका छोपेर सिंगारिएका काठमाडौंका सडक ( फोटोफिचर )

लकडाउनका कारण काठमाडौंका सडक सुनसान छन् । तर, सडकलाई सिंगार्ने काम भने रोकिएको छैन ।

सडक विभागले व्यस्त सडकमा गर्न नसकिने सडक सौन्दर्यीकरणलाई निरन्तरता दिएको हो । दैनिक लाखौँ सवारीसाधनको लस्कर देखिने सडक खाली भएको मौका छोपेर विभागले जेब्राक्रसिङ, रोड मार्किङ, लेन मार्किङलगायतका काम गरिरहेको छ । सवारीसाधनको भीड लाग्ने सडकमा मार्किङ भएपछि अहिले चिटिक्क देखिएका छन् । कोरोना भाइरसको सावधानीसहित चार–पाँच मजदुर खटाएर काम भइरहेको छ ।

सडक विभागले लकडाउनअघि काठमाडौंका विभिन्न सकडमा कालोपत्रे गरेको थियो । कतिपय सडकमा लेयर थप्ने, लेन विस्तार गर्नेलगायतका काम पनि भएका छन् । चार महिनाअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी वसन्तकुमार नेम्वाङले लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीका सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दोहोर्‍याएका थिए । त्यसयता मन्त्रालयकै चासोमा सडकमा ओभर ले अर्थात् कालोपत्रे लेयर थप्ने कामले गति लिएको भन्दै प्रशंसासमेत भइरहेको छ ।

सडक डिभिजन काठमाडौंले मात्रै आफूमातहतका सडकमा ९५ प्रतिशत खाल्डाखुल्डी पुरिसकेको छ । मन्त्री नेम्वाङले सय दिनको प्रगतिमा काठमाडौंका नौ हजार पाँच सयवटा खाल्डा पुरेको सार्वजनिक गरेका थिए । काठमाडौं सडक डिभिजनले लकडाउनमा सडक सुधारको कामलाई निरन्तरता दिएपछि मेटिएका सडक रेखा टिलिक्क टल्किएका हुन्। सडकमा सवारीसाधन र बाक्लो मानिस उपस्थिति नदेखिनु, वसन्त ऋतुको समय हुनु अनौठो संयोगजस्तै देखिएको छ। सडक सफा र रेखाहरु चहकिला मात्र छैनन्, चौडा सडकका वरपर रोपेका फूलका बिरुवाहरु झांगिएका छन्, फुल्न थालेका छन्।