युवा संगीतकार शंकर थापा स्माइलको ऐतिहासिक सफलता,आधुनिक गीत प्रतियोगितामा ममता गुरुङ प्रथम

युवा संगीतकार शंकर थापा स्माइलको संगीतमा रहेका चारवटै गीतहरु  गायनतर्फ  प्रथम, द्वितीय र तृतीय साथै गीतकार तर्फ प्रथम 

 प्रतियोगितामा ममता गुरुङ, खड्ग गन्धर्व र स्वेता मैनाली प्रथम

रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित आधुनिक गीत प्रतियोगितामा ममता गुरुङको स्वर , स्वेता मैनालीको शब्द रचना र शंकर थापा स्माइलको संगीत रहेको  तारा टिपेर माला लाउँछु बोलको गीत प्रथम भएको छ । प्रतियोगितामा स्वेता मैनाली उत्कृष्ट गीतकार  र खड्ग गन्धर्व उत्कृष्ट संगीतकार घोषित भएका छन् ।

प्रतियोगितामा गायन तर्फ पाँचथरकी मुना ठटाल द्वितीय र  भक्तपुरका सरोज परियारले तृतीय स्थान हासिल गरेका छन् ।
द्वितीय स्थान हासिल गर्न सफल पाँचथरकी मुना ठटालले  डिपी खनालको शब्द रचना र शंकर थापा स्माईलको सङ्गीत रहेको  ‘कति लाए मनमा मल्हम’ बोलको गीत गाएकी थिइन् भने परियारले पनि डिपी खनालकै शब्द रचना र शंकर थापाकै संगीत रहेको ‘बन्द भो त्यो आवाज’ बोलको गीत गाएका थिए ।

प्रतियोगितामा उत्कृष्ट तीन वटै गीतमा संगीत भरेका युवा संगीतकार शंकर थापा स्माइलले ऐतिहासिक पल भन्दै यो बर्षको रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा आफ्सनो संगीतमा गायनमा प्रथम , द्वितीय , तृतीय साथै गीतकारमा पनि आफैले संगीत दिइएको स्वेता मैनालीको शब्द रचना प्रथम स्थान हासिल गर्न सफल भएकोमा खुशी व्गायक्यत गर्दै उत्कृष्ट  सम्पूर्ण कलाकारहरुलाई  बधाई ज्ञापन गरेका छन् । उनले भनेका छन् “यो उपलब्धि हामी सबै टीमको हो हृदय देखि धन्यबादी छु “।

प्रतियोगीताको निर्णायक भूमिकामा बरिष्ठ गायक, संगीतकार तथा गीतकारहरु  बुलु मुकारुङ, गुरुदेव कामत,सुनिता सुब्बा र डा.गीता त्रिपाठी थिए ।

संगीतकार तर्फ उत्कृष्ट हुन सफल खड्ग गन्धर्वले  संगीतकार बुलु मुकारुङ ,शास्त्रीय गायक तथा संगीतकार गुरुदेव कामत, गायिका सुनिता सुब्बा र गीतकार डा. गीता त्रिपाठी प्रति  धन्यबाद ब्यक्त गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव नेत्रप्रसाद सुवेदीको प्रमुख आतित्थ्यमा सम्पन्न रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित आधुनिक गीत प्रतियोगितामा सुवेदीले गीत सङ्गीतले व्यक्ति,परिवार, समाज र राष्ट्रलाई सह मार्गमा डोर्‍याउनुका साथै चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)का कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपाल नेपाली गीत सङ्गीतको जननी भएको भन्दै  गीत सङ्गीतको संरक्षण,सम्बर्धन र प्रबर्धनमा  रेडियो नेपालको योगदान उल्लेख्य रहेको बताए ।

वि सं २०२२ साल देखी सुरु गरिएको आधुनिक गीत प्रतियोगितामा यो पटक मुलुकभरबाट ३० जनाको सहभागिता रहेको थियो ।