लकडाउन प्रभाव : इन्डक्सन चुल्हो किन्नेको भिड

काठमाडौं – सरकारले घोषणा गरेको लकडाउनको समय थपिने भएपछि थापाथलीमा रहेको खाद्यमा इन्डक्सन चुल्हो किन्नेको भिड लागेको छ ।

रामशाहथपस्थित संस्थानको बिक्री काउन्टरमा इन्डक्सनको स्टक सकिएकाले मानिसहरु थापाथली केन्द्रित भएका हुन् । कम्पनीले सुरु गरेको बिक्री कक्षमा लकडाउनपछि मात्रै तीन हजार पाँच सय भन्दा बढी विद्युतीय चुलो बिक्री भइसकेको कम्पनीकी सूचना अधिकृत सर्मिला सुवेदीले जानकारी दिनुभयो ।
लकडाउन इन्डक्सन चुल्हो
लकडाउनमा उद्योग धन्दा बन्द भएपछि विद्युतको माग ह्वात्तै घटेको छ। उद्योग धन्दा बन्द भएपछि विद्युतको आपूर्ति बढी छ । त्यसैले नेपाल विद्युत प्राधिकरणले पनि उपभोक्तालाई इन्डक्सन चुलो प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ । सरकारले पनि चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट दिने घोषणा गरिसकेको छ । बजारमा ग्यासको अभाव भएर मानिसमा इन्डक्‍सनमा मोह बढेको छ ।
लकडाउन इन्डक्सन चुल्हो
नाकाबन्दीको समयमा चीनले अनुदानमा ११ हजार थान इन्डक्सन चुल्हो पठाएको थियो। सुरुमा ११ हजार ९६ रुपैयाँ मूल्य तोकेर बिक्री गरिएको थियो। तर, सोचेअनुसार इन्डक्कसन चुल्हो बिक्री भएन। त्यसपछि मूल्य घटाएर ४ हजार पुर्‍याइएको हो । त्यही बिक्री नभएको इन्डक्सन चुलो अहिले भने धमाधम बिक्री भइरहेको छ ।

कोरोनको सम्भावित असरलाई मध्यनजर गर्दै केहि हप्ता अगाडी विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई ढुक्क भएर इन्डक्सन प्रयोग गर्न सुझाव दिएका थिए ।