स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन नसक्नु सरकारको कमजोरी : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डां. शशांक कोइरालाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन र सम्भावित जोखिम रोक्न सरकारले परिणाममुखी काम गर्न नसकेको दाबी गरेका छन्।

उनले सरकारको प्राथमिक कार्य कोरोना संक्रमण रोक्न भएपनि अस्पतालको निरन्तर र आकस्मिक सेवा पाउनुपर्ने विरामीले उपचार नपाएर ज्यान जोखिममा परेको विषयलाई गम्भीर रुपमा लिन सरकारलाई आग्रह गरे।

सरकारले कोरोनाभाइरसको विश्वव्यापी महामारीसंग जुध्नको लागि अहिलेसम्म गरेका तयारी र कामको समिक्षा गर्दै परिणाममुखी काम गर्न महामन्त्री कोइरालाले अपिल गरे। लामो समय चिकित्सक पेशामा काम गरेका कांग्रेस महामन्त्री कोइरालाले शुक्रबार एक अपील जारी गर्दै अहिलेको असामान्य अवस्थामा सामान्य तरिकाले काम गरेर नहुने बताए।

‘महासंकटको यस्तो अवस्थामा समेत सरकार संवेदनशील नभएको र औषधि उपकरण ल्याउन दिएको ठेक्काको खरिद प्रकृयामा अनियमितता भएको र प्रकृया रद्ध भएसंगै सरकार जहाँको त्यही भएको छ,’ उनले भने, ‘यस्तो असामान्य परिस्थितिमा सामान्य तरिकाले काम गरेर पुग्दैन।’
शशांक कोइराला
उनले स्वास्थ्य उपकरण खरिदमा भएको अनियमिताको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउँदै सेनालाई औषधि खरिदको जिम्मा नदिन आग्रह गरेका छन्। ‘सेनालाई औषधि किन्ने जिम्माभन्दा दक्षता अनुसारको कामको जिम्मा दिऔं। यस्तो प्रवृतीले हाम्रो प्रणाली कमजोर हुन्छ,’ उनको सुझाव छ।

उनले विशेषज्ञको सुझाब लिदै थप तयारीका साथ अघि बढ्न सरकारलाई आग्रह गरे। सरकारले एक निजी कम्पनीसँग स्वास्थ्य सामग्री खरिद गर्नेबारेको सम्झौता बुधबार रद्ध गरेर सेनालाई जिम्मा दिएको थियो। कोइरालाले लकडाउन लागू भएको १३ दिन बितिसक्दासमेत स्वास्थ्यकर्मीलाई अत्यावश्यक सामग्री उपलब्ध गराउन नसक्नुले सरकारको संवेदनशीलता र कार्यदक्षतामा नै शंका उत्पन्नभएको टिप्पणि गरेका छन्।

‘संभावित संक्रमितको परीक्षण एवं संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन नसक्नु सरकारको ठूलो कमजोरी हो,’ अपीलमा भनिएको छ, ‘सरकारले परीक्षण सामाग्री किन्यो भनेर जनता आश्वस्त हुन एक दिन पनि पाएनन्। विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्न निर्देशन दिएका सामाग्री नेपालले किनेको भन्ने खवरले जनता झन त्रसित भएका छन्।’

महामारीका बेला प्रतिपक्षी दलले निरन्तर सरकारलाई साथ दिँदै आएको उल्लेख गर्दै महामन्त्री कोइरालाले सरकारलाई आफ्नो कार्यशैली बदलेर अगाडि बढ्न सुझाव दिए।

उनले सीमामा अलपत्र नेपालीको व्यवस्थापन र विदेशमा रहेका नेपालीहरुको पनि स्वास्थ्य अवस्थाका साथै उनीहरुको उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्। कोइरालाले लकडाउनको पूर्णपालना गर्न आम नेपालीलाई आग्रह गरे ।