कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि ‘पोजिटिभ’

काठमाण्डौ – कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि ‘पोजिटिभ’ आएको छ ।

काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोभिड-१९ संक्रमित दुई जनाको दोस्रो पटक गरिएको परीक्षण रिपोर्ट पोजिटिभ आएको हो।

मंगलबार घाँटीको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । रिपोर्ट पोजेटिभ आएसँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले जानकारी दिनुभयो । गएको चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र चैत ६ मा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा अहिलेसम्म ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जना उपचारपछि घर फर्किसकेका छन् भने एक जनाको बाग्लुङमा र अर्का एक जनाको धनगढीमा उपचार भइरहेको छ ।