मनकारी मेयर : मजदुरहरुलाई आफू एक्लैले ६ महिना पाल्ने

गरिव मजदुरहरुका लागि ‘मनकारी मेयर’ भनेर चिनिन थालेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले कोरोना भाईरसको सन्त्रासपछि लक डाउनका कारण ढोरपाटनका मजदुरहरु काम नपाएर भोकै बस्ने अवस्था आए आफू एक्लैले ६ महिना पाल्ने घोषणा गरेका छन् ।

‘यो विकट थलो हो । यहाँका अधिकांश गरिव दलित जनजातीहरु दैनिक ज्यालामजदुरी गरेर गुजरा चलाउँदै आएका छन् । अहिले उनीहरुको काम गर्न नपाएर छाक अड्किने अवस्था छ । मैले ब्यक्तिगत रुपमा ढोरपाटनका करिव सय जना मजदुरहरुलाई बोलाएर एकएक बोरा चामल , दाल , तेल , नुन चिनी तरकारी बाँढ्दै छु । नगरपालिकाको तर्फबाट थप राहत प्याकेजको घोषणा पनि गरिने छ’, मेयर नेपालीको भनाई छ ।
मेयर देवकुमार नेपाली
उनले ढोरपाटनका सम्पुर्ण ब्यापारिहरुलाई बोलाएर उनीहरु संग रहेका सम्पुर्ण खाद्य वस्तु आफुले खरिद गरि स्टक राखेर भोलीको सम्भावित अभाव पुर्ति गर्ने योजना समेत रहेको बताए । स्थानीय सरकार प्रदेश र केन्द्र सरकारले पनि मजदुरहरुलाई राहत वितरण गर्ने भन्दै उनले त्यसले पनि मजदुर वर्गको अभाव पुर्ति हुन नसके नगरका मजदुर वर्गलाई भोकै मर्न नदिने बताए । ‘मैले कमाएको सम्पत्ती विपदमा परेको बेला तिनै मजदुर वर्गकै लागि हो , मैले मेरो सम्पत्तिलाई निजी ठानेको छैन्’, उनको भनाई छ ।

मेयर नेपालीले वुर्तिबाङ्खदेखि पोखरा र काठमाडांैमा रहेका आफ्ना घरमा बस्ने ब्यक्ति र विभिन्न संस्थालाई एक महिनाको कुल ९ लाख ६५ हजार भाडा छुट गरि दिएको समेत बताए । उनले काठमाडौको सुकेधारा, पोखराको पृथ्वीचोक, सृजनाचोक र रत्नचोक सहित १४ वटा वित्तिय र अन्य ब्यवसायिक संघ संस्थाहरुले भाडामा लिएकाआफ्ना घरको भाडा छुट गरि दिएको बताएका हुन् ।