ड्रोनबाट लकडाउनको निगरानी

नेपाल प्रहरीले काठमाण्डू उपत्यकाभित्र लकडाउनको बेला मानिसहरूको आवतजावतको निगरानी गर्न ड्रोनको प्रयोग गरेको बताएको छ।

कोरोनाभाइरस सङ्क्रमण रोक्नका लागि गरिएको लकडाउनका बेला चारवटा ड्रोनका माध्यमबाट प्रहरीले उपत्यका विभिन्न १५ स्थानहरूको गतिविधि अनुगमन गरिरहेको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशीले बीबीसीलाई बताएकाा छन्।

“अहिलेको विषम परिस्थितिमा सबै स्थानमा प्रहरी आफैँ पुगेर अनुगमन गर्ने अवस्था छैन तर ड्रोनको माध्यमबाट हामीले सम्भव भएका स्थानहरूको यथास्थिति बुझिरहेका छौँ,” प्रवक्ता जोशीले बताए।

ड्रोनको प्रयोगमार्फत् सर्वसाधारणको भिड तथा गाडीको आवतजावत अनुगमन गरि त्यसलाई नियन्त्रण गर्न निकै सहज भएको उनी बताउँछन्। कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्नका लागि नेपाल सरकारले अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्कन नपाउने गरी चैत्र ११ देखि २५ सम्मका लागि ‘लकडाउन’ गर्ने आदेश जारी गरेको छ।

ड्युटीमा खटिएका प्रहरी आफैँ पनि कत्तिको सजग भएर काम गरिरहेका छन् र उनीहरूको अवस्था कस्तो छ भनी थाहा पाउन पनि ड्रोनले सहयोग गरिरहेको उनी बताउँछन्। बल्खु, बानेश्वर, चावहिल, चक्रपथ, गौशाला, ग्वार्को, कलंकी, कालिमाटी, लगनखेल, मैतिदेवी, नयाँ बसपार्क, रत्नपार्क, सातदोबाटो, थापाथली र त्रिपुरेश्वरमा ड्रोन परिचालन गरिएको छ।

“ड्रोनको प्रयोगबाट विभिन्न स्थानहरूको यथास्थिति हेर्न सकिने भएकाले प्रहरी सबै ठाउँमा आफैँ पुग्न परेन। जसले अहिलेको परिस्थितिमा सामाजिक दूरी कायम गर्न पनि सहयोग पुर्‍याइरहेको छ,” प्रवक्ता जोशी बताउँछन्।

कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्न विश्वका विभिन्न देशले ‘लकडाउन’ गरेका छन्।

चीन, अमेरिका, स्पेन, फ्रान्ससहित कैयन् देशले ती लकडाउनको अवस्था निगरानी गर्न ड्रोनको प्रयोग गरिरहेका छन्।