कोरोना त्रास : धमाधम मेडिकल बन्द हुदै

जाजरकोट – कोरोनाको त्रासले जिल्लामा मेडिकलसमेत धमाधम बन्द हुन थालेका छन्। दुई साता अघिसम्म जिल्लाको छेडागाड नगरपालिकामा मात्रै करिब चार दर्जन मेडिकल सञ्चालनमा थिए।

यतिबेला भने नलगाडको थलहमा रहेको डेभिड मेडिकल सेन्टरबाहेक सबै मेडिकल बन्द छन्। कोरोना संक्रमणको डरले धमाधम मेडिकलसमेत बन्द हुन थालेपछि जिल्लाको ग्रामीण क्षेत्रका स्थानीयको उपचार सेवा प्रभावित भएको छ। लकडाउनको अवधिमा पनि सेवा दिनुपर्ने मेडिकल सञ्चालकले सेवा बन्द गरेर घरतिर लागेपछि स्थानीयलाई सामान्य रोगको समेत उपचार पाउन सकस छ। गाउँका मेडिकल बन्द भएपछि उपचारमा समस्या भएको छेडागाड-५ का जयबहादुर थापाले बताए। जिल्लाभर तीन सयको हाराहारीमा निजी मेडिकल स्थापना भएका छन्। तर अधिकांश अनुमतिबिनै सञ्चालनमा छन्। अनुमति बिनै खुलेका मेडिकलले पनि सेवा दिँदै आएका थिए।

सरकारी स्वास्थ्य संस्थाले पनि सामान्य अवस्थामा अस्पताल नआउनु भन्ने सूचना जारी गरेपछि स्थानीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर छन्। कोरोना संक्रमण भएका बिरामीको उपचारका लागि व्यक्तिगत सुरक्षा सामग्री नभएको र संक्रमित आए आफैं जोखिममा पर्ने भन्दै निजी मेडिकल बन्द गर्नु परेको छेडागाड-५ थलहमा एक मेडिकल सञ्चालकले बताए। मेडिकलमा पर्याप्त औषधि नभएको र लकडाउनका कारण थप औषधि ल्याउन नसकिएको मेडिकल सञ्चालकहरुको भनाइ छ।