सरकारी जागिर छाडेर किवी खेती थालेका तारामणि अहिले १५ जनालाई रोजगारी दिँदै

काठमाडौँ – इलाम जिल्लाका सदन्कपुर गाउँपालिका-३ तालगाउँका तारामणि खतिवडा सर्वोञ्च अदालतमा नायक सुब्बाका जागिरे थिए । सर्वोच्च अदालत जस्तो कार्यालयमा काम गरेका उनी आफैमा भने सन्तुष्टि थिएनन् ।

जागिर गर्नुभन्दा फरक केही गर्नु पर्छ भन्ने सोच तारामणिको मनमा नआएको होइन । तर, के गर्ने भन्ने अन्योलमा थिए । यसबीच साथीभाइहरुसँग केही फरक काम गर्ने विषयमा कुरा गरे । छलफल गरे ।

एकदिन काठमाडौँको भाटभटेनीमा तारामणि सामान किन्न पुगे । उनले अनौठो प्रकारको फल देखे । मनमा खुल्दुली बढेपछि सोधे । उनले जवाफ पाए- युरोपबाट आएको किवी । अनौठो फलको नाम सुनेपछि अझै मनमा जिज्ञासा बढ्यो । ‘युरोपबाट ल्याइएको ३ दाना किवीलाई २ सय ६६ पर्ने रहेछ,’ उनले सम्झे । यो कुरा करिब १५ वर्षअघिको हो ।
किवी खेती
सरकारी जागिर गरिरहेका उनले मनको एक कुनामा त्यही नौलो फलको खेती गर्ने सोच बनाए । देशमा बेरोजगार बढिरहेका बेला उनले सरकारी जागिर तिलाञ्जली दिने भए । र, किवी खेती सुरु गर्नका लागि आवश्यक अध्ययनहरु गरे ।

किवी खेती गर्न दुई वर्ष अध्ययनमा बिताए- तारामणिले । त्यसपछि विसं २०५९ सालमा सरकारी जागिर छाडेर काठमाडौँदेखि इलाम पुगे । इलाम पुगेका उनले ‘हिस्ट्री किवी प्रा.लि. फार्म’ सुरु गर्ने भए । सुरुमा ९ रोपनी जग्गामा किवी खेती सुरु गर्ने भए ।

उनको फरक कामले विस्तारै मूर्त रुप लिएपछि अहिले ४० रोपनी जग्गामा किवी खेती हुँदै आएको छ । अहिले उनको फार्ममा १५ जनाले काम पाएका छन् । उनले रोजगारी दिइरहेका छन् ।