कोरोना भाइरसविरुद्ध उभिन सर्वदलीय बैठक

काठमाडौं – कोरोना भाइरस संक्रमणविरुद्ध उभिन र साझा धारणा बनाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार दिउँसो ३ बजे बैठक बोलाइएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने पाँचवटै दलका शीर्ष नेतालाई सहभागीताका लागि बोलाइएको छ ।

विश्वव्यापी रूप लिइरहेको कोरोना संक्रमणसँग लड्न सरकारले गरेको पूर्वतयारीलगायत विषयबारे छलफल गर्दै सामूहिक रुपमा कोरोना रोकथामका लागि प्रयास गर्न सवै एकजुट हुनेगरी धारणा तय गरिने मन्त्री पोखरेलका प्रेश संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमण प्रभावित नभएपनि सर्वसाधारण त्रसित बनेका छन् भने काँग्रेस लगायतका दलहरुले कोरोनासँग जुध्न पूर्व तयारी नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराइरहेको छ ।