काठमाडौंका ९५०० खाल्डा पुरियो : यातायातमन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं उपत्यकालाई बाह्रै महिना खाल्डाखुल्डीरहित कालोपत्रेयुक्त सडक बनाउने बताएका छन् ।

मन्त्रीको जिम्मवारी पाएको सय दिन पुगेको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौं उपत्यकाका सडक तथा यातायात सुधारलाई उच्च प्राथमिकता दिएर काम भइरहेको बताए । ‘काठमाडौं उपत्यकाको सडक खाल्डाखुल्डी र धुलोरहित बनाउने योजना उपलब्धिमूलक भएको छ,’ उनले भने, ‘यो अवधिमा ९ हजार ५ सय खाल्डा (२४३०० वर्ग मिटर) खाल्डाखुल्डी पुर्ने काम भएको छ ।’ त्यस्तै, अहिलेसम्म २७ किलोमिटर सडक कालोपत्रे गरिएको र असारसम्म उपत्यकाको ८५ किमि सडक कालोपत्र गरिने उनले बताए ।

त्यस्तै, नेपाल सरकारले बनाउने तिनकुने–तिलगंगा सडकखण्डलाई ८ लेनमा विस्तार गर्न विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको उनले जानकारी दिए । त्यस्तै, काठमाडौंको बल्खु, सानेपा, महालक्ष्मीस्थान र बानेश्वरमा थप निर्माण गरेर यातायात व्यवस्थापन सहज बनाइने भएको छ । मूल सडकसँग जोडिएका पहुँच मार्गलाई पनि कालोपत्रे गर्ने प्रक्रिया अघि बढाइएको छ भने फुटपात, रेलिङ निर्माण, जेब्रा मार्किङ तथा रङरोगनलाई उच्च प्राथमिकता दिएको छ ।