प्रचण्डले गिरिजाले ठूल्‍ठूला आक्रमण गर्नुस् भन्‍नुहुन्थ्यो भनेपछि कांग्रेसको आपत्ति

नेपाली कांग्रेसले आफ्ना पूर्वसभापति गिरिजाप्रसाद कोइरालालाई जोडेर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार साँझ विज्ञप्ति निकालेर नेकपा अध्यक्ष प्रचण्डले दिएको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

जनयुद्ध तथा जनआन्दोलनका सहिदको स्मृतिमा नेकपा पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार विहान आयोजित कार्यक्रममा प्रचण्डले गिरिजाप्रसाद कोइरालाले ‘सदरमुकाम हान्नुपर्‍यो’ भनेर आग्रह गर्ने गरेको अभिव्यक्ति दिएका थिए। कोइरालाको जिम्मेवार र परिपक्क भूमिकालाई प्रचण्डले अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक र आपत्तिजनक रहेको शर्माले उल्लेख गरेका छन्।

‘फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्नुपर्‍यो भनेर कोइरालाले दाहाललाई यदि साँच्चै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जिवित छँदै नै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो। तर उहाँको निधन भएको यतिका वर्षपछि ऐतिहासिक तथ्यलाई तोडमोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु दु:खद छ’ प्रवक्ता शर्माले निकालेको विज्ञप्तिमा भनिएको छ।

साथै कांग्रेसले प्रचण्डलाई गिरिजाले भनेका कुरा पनि स्मरण गराएको छ। ‘जिम्मेवार ढंगले कार्य गर्न कोइरालाले कुनै बेला दाहाललाई दिनु भएको सुझाव सार्वजनिक रूपले स्मरण गराउँदै जिम्मेवार अभिव्यक्तिका लागि पनि सजग गराउँदछु’ शर्माले भनेका छन्।

तत्कालीन माओवादी विद्रोहको शान्तिपूर्ण अवतरण गराउन कोइरालाले निर्णायक पहल गरेको कुरा पनि नभुल्न कांग्रेसले आग्रह गरेको छ। ‘शान्ति प्रक्रियामा नआएको भए माओवादी समाप्त हुन्थ्यो स्वीकार्नु भएछ तर सेफल्याण्डिङको संयोजन गर्ने नेताप्रति विवादास्पद अभिव्यक्ति किन?’ शर्माले प्रश्न गरेका छन्।

कार्यक्रममा प्रचण्डले ‘नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र मेरोबीचमा दिनदिनैजसो कुरा हुन्थ्यो। र उहाँले मलाई ठूल्ठूला आक्रमण बढाउनुपर्‍यो भन्नुहुन्थ्यो। फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो। सदरमुकाम हान्नुपर्‍यो भन्नुहुन्थ्यो। यो बडो विचित्रको कुरा हुन्थ्यो’, भन्ने अभिव्यक्ति दिएका थिए ।