कर्मचारीलाई मन्त्री बाँस्कोटाले थर्काए : ‘राजनीति गर्ने भए पार्टी कार्यालयमा जानुहोस्’

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले टेलिकमको वार्षिकोत्सव समारोहमा विनियमावलीको विरोध गर्दै कर्मचारीहरुले प्रदर्शन गरेकोमा असन्तुष्ट बनेका छन् । उनले कर्मचारीको विरोधलाई लक्षित गर्दै राजनीति नगर्न कडा चेतावनी दिए ।

बुधबार नेपाल टेलिकमको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । उनले भने,‘धेरै प्राविधिक र इन्जिनियरहरु विकट पहाड पुगेर टावर ठड्याउनुहुन्छ, उहाँहरुलाई धन्यवाद छ, बधाई छ, केही कर्मचारीहरु भने यहाँ कार्यालयमा बसेर राजनीति गर्नुहुन्छ । यहाँ राजनीति नगर्नुहोस, राजनीति नै गर्ने भए पार्टी कार्यालयमा जानुहोस् ।’

उनले आन्दोलनरत कर्मचारीहरुसँग हिसाबकिताब राख्ने चेतावनी समेत दिए । उनले अघि भने, ‘स्यान्टा क्लज जस्तो बनाएर उभिनु भएको छ । राजनीति गर्नु छ भने पार्टी कार्यालय जानुस् । अनशन र जुलुश नै निकाल्नु नि, यो मेरो दम्भ होईन है । के तपाईहरुलाई भ्रष्टाचार र बेथिति चाहिएको हो ? टेलिकमको जगलाई भासेर जमिनमुनि पुर्याउन चाहेको हो ? यो सबै कुरा संस्थाभित्र चल्दैन ।’

उनले राजनीतिका लागि गरिने राजनीति आफूले परास्त गरेर छोड्ने पनि उद्घोष गरे । उनले भने,‘राजनीति गर्नेलाई म जसरी भए पनि पराजित गर्छु । यो सोच त्याग्नुपर्छ । यसको हिसाबकिताब पनि म राम्रै गर्छु । अराजकता सहिन्न । बाँकी जीवन छ भन्ने सोचेर आर्थिक अनुशानमा बस्नुहोस् । डिकन्स्ट्रक्टिभ सजेशन गर्नेलाई पराजित गरेर छाड्छु । तर, कन्स्ट्रक्टिभ सजेशन दिनेलाई म लिन्छु, उनीहरुको कुरा सुन्छु ।’

उनले टेलिकमको फोरजी गाउँ गाउँ पुगेकोमा दुःखी भएको हो त ? भन्दै कर्मचारीहरुलाई प्रश्नसमेत सोधे । ‘आजको जमाना भनेको टेक्नोलोजीको हो, टेलिकमलाई हिमालजस्तो उठाउनुपर्छ । यसको लागि तपाईहर कामप्रति ईमानदार बन्नुहोस् । तपाईहरुको जायज माग र कुरा म सन्छु । तर, म दुई चार जनाको कुरा सुनेर हच्किनेवाला छैन् । तपाईहरुको मैले राम्रैसित हिसाबकिताब राखेको छु ।’

उनले कर्मचारीहरुप्रति निर्मम भएर प्रस्तुत हुँदै गर्दा बेलुका भोजमा को को आउनुहोला म हेर्छु भनेर भन्दै गर्दा विरोधमा उत्रिएका कर्मचारीहरुले हामीलाई भोज चाहिएको छैन भनेर तल फ्लोरबाट जवाफ फर्काएका थिए । मन्त्री बाँस्कोटा यतिकैमा रोकिएनन् । उनले भनिहाले,‘मलाई चूनौति चाहीँ नदिनुहोला, अराजकता सहिँदैन् ।’