तिनवटा नेकपाले हामीलाई घेराबन्दीमा पारेको छ : कृष्णप्रसाद सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस विधि र पद्धतीमा चल्नु पर्ने बताएका छन् । सहिद दिवसका उपलक्ष्यमा बिहीबार सर्लाहीमा तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै सिटौलाले कांग्रेसमा बिधि र पद्धतीमा नचल्ने प्रवृत्ति हावी भएको उल्लेख गरेका हुन् ।

‘घरमुली नै गति छाडा भएर घर चल्छ ?’ सिटौलाले भने ‘घरका सबै सदस्यको कुरा पनि सुन्नु पर्छ, त्याग गर्न पनि सक्नु पर्छ ।’ सोही कार्यक्रममा बोल्दै तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले केन्द्रका नेतालाई गाली गर्नुभन्दा आफुले के गर्न सकिन्छ भनेर सोच्न आग्रह गरे ।

नेता सिटौलाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले आफुलाई देशको मालिक सम्झिएको आरोप पनि लगाएका छन् । उनले नेकपा नेतृत्वको सरकारले आफ्नो दल बलियो भयो भने मात्र देश बलियो हुन्छ भन्ने भम्र सृजना गरेको बताए ।

उनले कांग्रेसलाई नेकपाले चौतर्फी घेराबन्दीमा पार्ने प्रयास गरेको आरोप पनि लगाए । ‘अहिले तिनखालको नेकपा छ,’ उनले भने, ‘विप्लव भन्ने नेकपा जंगलमा छ, अर्को सडकमा छ, दुई ठुला दल मिलेर बनेको नेकपा सदनमा बसेर हामीलाई घेराबन्दीमा पारेको छ ।’

‘कांग्रेस जनतालाई सम्पन्न बनाए मात्र देश सम्पन्न हुन्छ भन्ने सोचले अघि बढ्छ,’ उनले भने, ‘तर नेकपा आफुलाई सर्वशक्तिमान बनाउन चाहन्छ । कांग्रेस र कम्युनिस्टमा फरक यही हो ।’ नेकपा सरकारले बिस्तारै न्यायालय, प्रेस, उद्योग, ब्यापार, सेना प्रहरी गर्दै देशको स्वतन्त्र निकाय माथि कब्जा गर्दै लगेको उनको भनाई थियो ।