जातीय मुक्तिका लागि संविधान संशोधन गर्न तयार छौं : प्रचण्ड

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले जातीय मुक्तिका लागि संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने बताएका छन् ।

पार्टीको भातृ संगठन आदिवासी जनजाती महासंघको सपथग्रहण कार्यक्रममा दाहालले जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने बताएका हुन् ।

उनले अझै पनि सबै उत्पीडित वर्ग, जाति, समुदाय, भाषा पूर्णरूपमा मुक्त हुने कुरा बनिनसकेको बताए । ‘उत्पीडित समुदाय पूर्णरूपमा मुक्त हुने वातावरण अझै बनेको छैन’, उनले भने, ‘एकताबद्ध भई शान्तिपूर्ण रूपले संविधान संशोधनको माध्यमबाट हामीले सोचे खोजे जस्तो मुक्ति हासिल गर्न सक्छौँ ।’

संविधानले पनि बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक रहेको स्वीकार गरेको उल्लेख गर्दै उनले आदिवासी जनजातिको हक अधिकार, परम्परा, संस्कृति र पहिचानलाई स्थापित गर्ने कुरामा संविधानले नै पहल लिएको धारणा राखे । उनले सबै खालको विभेदको अन्त्य गरी समतामूलक समाजिक न्यायसहित सबैको हकअधिकार स्थापना भएको समाज निर्माण गर्ने बताए ।

दाहालले साम्राज्यवाद र सामन्तवाद विरुद्धको लडाई जितेपनि अझै समानताको पुरै लडाई जित्न बाँकी रहेको र यसका लागि मिहेनत गरी एकतावद्ध भएर अगाडी बढ्नुपर्ने उल्लेख गरे । नेकपा सबै खालका विभेदको अन्त्य गरी सबैको हक अधिकारका सुनिश्चित गर्न सदैव तयार रहेको दाहालको भनाइ छ ।

पूँजीपतिहरु र साम्राज्यवादीहरुले साम्प्र्रदायिक विद्वेश फैलाउने र जातिजातिबीच लडाई गराउने नीति र कम्युनिष्टहरुले अघि सारेको जातीय हक अधिकार र मुक्तिको विषय फरक भएपनि बुर्जुवाहरुले यसलाई गोलमाल गर्ने गरेको दाहालले उल्लेख गरे ।

अध्यक्ष दाहालले सबैलाई समान अधिकार प्राप्तीको सुनिश्चिता नभएसम्म देशमा भौगोलिक विविधता र विविधतायुक्त एकता कार्यम गर्न नसकिने बताए ।