ओली र प्रचण्डबीच सहमति, अग्नि सापकाेटालाई सभामुख

काठमाण्डौ – तीन महिनादेखि रिक्त प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विवाद टुंगो लागेको छ ।

आइतबार बिहान सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सुवास नेम्वाङलाई सभामुखका लागि अघि सारेको भए पनि अर्का अध्यक्ष प्रचण्डले सभामुख पूर्वमाओवादीबाटै हुनुपर्ने अडान लिएपछि नेता सापकोटाको नाममा सहमति जुटेको हो ।

सापकोटा अध्यक्ष प्रचण्ड निकट मानिनुहुन्छ । दुई नेताबीच भएको सहमति आइतबार ४ बजे बस्ने सचिवालय बैठकले अनुमोदन गरेपछि सार्वजनिक गर्ने तयारी नेकपाले गरेको छ ।

नेकपाका महासचिव विष्णु पौडेलले ४ बजे बस्ने सचिवालय बैठकमा सभामुखबारे छलफल हुने बताउनुभयो । दुई अध्यक्षबीच भएको सहमति आफूहरुलाई जानकारी नभएको भन्दै उहाँले आजै बस्ने सचिवालय बैठकले सभामुखको उम्मेदवार भने टुंगो लगाउने बताउनुभयो ।

नेकपाबाटै उपसभामुख बन्नुभएकी शिवमाया तुम्बाहाङ्फेले पार्टीले सभामुखको उम्मेदवार टुंगो नलगाएसम्म राजीनामा नदिने अडान लिएपछि नेकपाले आज सभामुखको टुंगो लगाउन लागेको हो ।

सभामुखमा तुम्बाहाङ्फेले पनि दाबी गर्दै आउनुभएको छ । तर दुई अध्यक्ष सापकोटालाई सभामुख बनाउन सहमत भएपछि तुम्बाहाङ्फेको दावी व्यर्थ हुने भएको छ । नेकपाले सभामुखको उम्मेदवार टुंगो नलाग्दा संसद बैठक एक महिनादेखि लगातार सूचना टाँस गरेर स्थगित हुँदै आएको छ ।

पुस ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशन त्यसपछि बैठक नै नबसी स्थगित हुँदै आएको हो । संसद बैठक सोमबारका लागि पनि तय गरिएको छ । आइतबार ४ बजे नेकपाको सचिवालय बैठकले सभामुखको उम्मेदवार टुंग्याए सोमबारका लागि तय भएको संसद बैठक भने अघि बढ्ने विश्वास लिइएको छ ।