विप्लव कार्यकर्तालाई प्रवेश गराउँदै प्रचण्डले भने ढुक्क हुनुस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलोचाँडो नेत्रविक्रम चन्द विप्लव पनि नेपाल कम्युनिस्ट पार्टी प्रवेश गर्ने बताएका छन्।

विप्लव नेतृत्वमा रहेका केही युवालाई मंगलबार काठमाडौंमा नेकपा प्रवेश गराउँदै प्रचण्डले युवाहरूले उपर्युक्त निर्णय लिएको बताए।

‘तपाईंहरूले ठीक समयमा ठीक निर्णय गर्नुभएको छ। तपाईंहरूको अनुभव, क्षमता र सक्रियताअनुसार जिम्मेवारी दिने कुरामा हामी कमी गर्ने छैनौं,’ दाहालले भने, ‘ढुक्क हुनुस् कुनै डर लिनुपर्ने अवस्था छैन। तपाईंहरूको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी मेरो हुन्छ।’

उनले विप्लव पनि ढिलोचाँडो आफ्नो पार्टीमा प्रवेश गर्नुको विकल्प नभएको बताए। ‘केही समयपछि विप्लव पनि यसरी नै आउनुपर्छ अरु कुनै विकल्प छैन,’ उनले भने।

आफूले लडेर ल्याएको परिवर्तनलाई रक्षा गर्न पनि सबै कम्युनिस्ट एक हुनुपर्ने प्रचण्डले बताए। ‘नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्नुपर्छ,’ उनले भने, ‘परिवर्तन रक्षा गर्दै समाजवादमा जाने हो।’