एकताको भ्रमपूर्ण प्रचार, पद जोगाउन सकस परेकाको पद नखोस्ने- बाबुराम भट्टराई (भिडियो )

महरा पक्राउप्रति बाबुरामको आशंका : आफैंले पालेको खसी काटेर चोखिन खोजेको त होइन ?

पञ्चायतकालमा राजाका एडिसी र तत्कालीन प्रहरी प्रमुख नै समातिएको स्मरण गर्दै भट्टराईले भने, ‘अहिले यी सबै प्रकरणमा पनि आफैंले पालेको खसी काटेर चोखिन खोजेको त होइन भन्ने आशंका जन्मिएको छ।’

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा अहिले न्यायिक हिरासतमा छन्। उनलाई अदालतको आदेश बमोजिम नर्भिक अस्पतालमा राखिएको छ।

भट्टराईले अहिलेको तरिकाले भ्रष्टाचारको अन्त्य नहुने पनि बताए। । कांग्रेस सरकारमा भएको बेलामा कम्युनिस्टहरुलाई भ्रष्टाचारी भन्ने र कम्युनिस्टहरु सरकारमा भएको बेलामा काँग्रेस भ्रष्टाचारी भन्ने प्रवृत्ति रहेको बताए।

‘भ्रष्टाचारको अहिले जुन प्रकरणहरू भइरहेका छन् यसरी अंश, अंशमा यो हल हुँदैन । काँग्रेस सरकारमा भएको बेलामा कम्युनिस्टहरूलाई भ्रष्टाचारी भन्ने, कम्युनिस्टहरू सरकारमा भएको बेलामा कांग्रेस भ्रष्टाचारी भन्ने अनि एक भएका बेला चोचो मिलाएर फेरि सबै साफ हुने जुन प्रवृत्ति छ, यसरी भ्रष्टाचारको निवारण हुँदैन।’ उनले भने, ‘त्यसको निम्ति अधिकारसम्पन्न जनलोकपालको व्यवस्था गरेर हामी पूर्वप्रधानमन्त्रीदेखि लिएर सबैको सम्पत्ति र गतिविधिको छानबिन गर्न सक्ने र आवश्यक पर्दा सबैलाई कारबाही गर्नसक्ने यस्तो शक्ति सम्पन्न जनलोकपाल हुनुपर्छ भन्ने हाम्रो भनाई हो ।

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीमा जान चाहेकाहरुलाई कारबाही नगर्ने बताएका छन् ।

अर्का अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरुले शनिबार मात्र माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका थिए । लगत्तै भट्टराई पक्षले बैठक राखेर उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ७० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्य आफूहरुसँग रहेको बताए ।

तर अर्को पक्षले हस्ताक्षर संकलन गरिरहेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘अर्काको पार्टीमा जाने भन्नुहुन्छ, सम्झौता गरिसक्नुभएको छ । यो पार्टीलाई नै किन लैजानु पर्‍यो ?’

उनीहरुको पक्षमा ४० प्रतिशत नपुगेका कारण सांसद पद जोगाउन सकस परेको भन्दै उनले पद नखोस्ने आश्वासन समेत दिए । ‘मैले साथीहरुलाई पनि भनेको छु, तपाईंहरु जानुस्, तपाईंहरुको सांसद पद खोस्न मुद्दा मामिला गर्दैनौं’, उनले भने, ‘मैले त प्रचण्डजीलाई पनि म्यासेज पठाएको छु । उहाँहरुले मरिहत्ते गरेपछि भित्र्याउनुस्, किन यस्तो रडाको गरेको ।’

अध्यक्ष भट्टराईले यदि थाकेको हो भने ससम्मान जान, तर रडाको नगर्न नेताहरुलाई आग्रह गरे ।

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रसँग एकता गर्न लागिएको भ्रमपूर्ण प्रचार भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार पत्रकार सम्मेलन गर्दै माओवादीसँग पार्टी एकता नभई केही व्यक्ति प्रवेश गर्न लागेको बताए ।

‘केही समययता हाम्रा केही साथीहरू आन्दोलनमा थाकेजस्तो छ । त्यसले गर्दा यात्रामा हिँड्नु भन्दा चौतारामा बसौँ, छिमेकीको घरमा गएर मिठो खाना खाऔँ भन्ने जस्तो यात्रीलाई अनुभूत हुन्छ,’उनले भने,‘साथीहरूलाई पनि त्यस्तै भएर साथीहरूले (माओवादीमा प्रवेश) गर्न खोज्नु भयो । त्यसलाई हामीले अन्यथा मान्ने कुरा भएन । त्यो त निरन्तर चल्छ ।’

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा केही मान्छे पार्टी प्रवेश भएको कुरालाई पार्टी मर्ज भएको ढंगले वक्तव्य आउनुले आफूहरू आश्चर्यचकित भएको भट्टराईले बताए । ‘हाम्रो ७० प्रतिशत केन्द्रीय समिति र दुई तिहाइ कार्यकारिणी समितिले माओवादीसँग पार्टी एकता नगर्ने निर्णय गरेका छौँ । पार्टी एकता भनेर भ्रमपूर्ण र जालसाक्षी प्रचार गरियो,’ उनले भने, ‘कोही साथी कुनै पार्टीमा जान चाहनुहुन्छ भने फूलमाला लगाएर पठाउने नयाँ संस्कार बसाउन चाहन्छौँ । यसलाई हामीले ठुलो विषय मानेको होइन ।’
१० वर्ष अगाडि देशमा नयाँ शक्तिको खाँचो भनेर आफूले सुरु गरेको अभियान अगाडि बढिरहेको उनले बताए । ‘संविधानसभाबाट संविधान जारी भएपछि नेपालमा नयाँ शक्तिको अभियान सुरु गर्‍यौँ । त्यो सँग-सँगै विवेकशील साझा आदि हुँदै स्वतन्त्र अभियान हुँदै पुराना शक्तिहरूको विकल्पमा नयाँ शक्ति निर्माण गर्ने क्रम अगाडि बढिराखेको छ । यसमा सुरुवातकर्ता हामी हो । हाम्रो अभियान कता हराएजस्तो भयो । के भयो नयाँ होकि पुरानो हो भनेजस्ता पर्न गयो,’ उनले भने ।

यस्तै उनले राजनीतिक स्थिरता विना देशमा सुशासन हुन नसक्ने बताए । ‘त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचित संसद्को व्यवस्था हुनै पर्छ । त्यसो नभएसम्म यो देशमा स्थायित्व हुँदैन । भ्रष्टाचार निवारणका लागि अधिकार सम्पन्न जनलोकपालको व्यवस्था गरेर जानुपर्छ ,’ भट्टराईले भने ।
भिडियो हेर्नुहोस